पुस १, २०८० आइतबार

सुदूरपश्चिम, १ पुस :  कैलालीको त्रिनगर भन्सार कार्यालय नाकामा क्वारेन्टिन चेकपोष्ट कार्यालय सञ्चालनमा आएसँगै मालवस्तुको आयात तथा निर्यात सहज बनेको छ । नेपाल सरकार मन्त्रिपरिषद्को निर्णय बमोजिम गएको मङ्सिर २३ गतेबाट त्रिनगर नाकामा क्वारेन्टिन चेकपोष्ट कार्यालय सञ्चालनमा आएको हो । 

    चेकपोष्ट कार्यालयका प्रमुख प्रमोद ठगुन्नाले कार्यालयले विरुवा तथा विरुवाजन्य वस्तुको पैठारीका लागि प्रवेश अनुमतिपत्र जारी गर्ने, विरुवा तथा विरुवाजन्य वस्तुको निकासीका लागि विरुवाको स्वास्थ्यतासम्बन्धी प्रमाणपत्र जारी गर्ने र नाकामा आयात हुने अन्य कृषिजन्य मालवस्तुको निरीक्षण गरेर छुटपूर्जि दिने लगायतका काम गर्दै आएको बताउनुभयो । 

    यो नाकामा विगतमा टुरमुकामका रुपमा क्वारेन्टिन कार्यालय थियो । उक्त कार्यालय झण्डै चार महिनादेखि बन्द भएपछि वस्तुको आयात तथा निर्यातको काम ठप्प हुनपुगेको थियो ।

    कार्यालय प्रमुख ठगुन्नाले कार्यालय सञ्चालनसँगै हाल औषतमा दैनिक रु एक करोड बराबरको मालवस्तु आयात भइरहेको जानकारी दिनुभयो । यस अवधिमा रु २६ लाख बराबरको तोरीको पिना निर्यात भएको उहाँको भनाइ छ ।

    विवेक फिड इन्डस्ट्रिज प्रालि धनगढीका प्रबन्ध सञ्चालक विवेक भट्ट त्रिनगर नाकामा क्वारेन्टिनको काम रोकिँदा झण्डै चार महिनासम्म करिब रु ३७ करोडको राजश्व प्रदेशले गुमाएको बताउनुभयो । “त्रिनगर नाकामा क्वारेन्टिनको काम नहुँदा नेपालगञ्ज नाकाबाट मालवस्तु भित्र्याउनुपर्ने अवस्थाले सुदूरपश्चिम प्रदेशका व्यसायीको पैंसा(कर) अरु प्रदेशमा गयो”, भट्टले भन्नुभयो ।