आगाले दाउरालाई खरानी बनाएजस्तै
पानीले जमिनको आकार बदलेजस्तै
चाहेको भए तिमीले
बदल्न सक्थ्यौ मेरो देशलाई ।
जूनले दिनलाई रात बनाएजस्तै
घामले रातलाई दिन बनाएजस्तै
दिन र रातलाई
जूनले र घामले बदलेजसरी नै
समानताको साथ बदलिँने सम्भावना बोकेर
प्रतीक्षामा छन् देशका धरोहरहरू ।
दुनियाँले लेखेदिए
दुनियाँले भनिदिए
दुनियाँ बदलियो.....
बर्षौंदेखि अनिदो पहाडहरू
अनिदै ठडिरहेका छन्
तिमीलेझैँ निदाउन जानेनन्
निरीह नदीहरू
बगिरहेछन् तिमीझैँ
कहिले रोकिन मानेनन् नदीहरूले
हाम्रो भाषा र भूगोलको जस्तो
फूलहरूको सुगन्धमा
विभेद कहिल्यै आएन ।
शताब्दियौंदेखि
वृक्षहरू मौन छन्
मान्छेजसरी युद्ध कहिल्यै गरेनन्
आँप र खुर्सानीमा असमानताको कुरा कहिले भएन
अनि दुनियाँ कसरी बदलियो ?
माटो उडेर आकाश कहिले भरिएन
महल हिजोजस्तै भरिपूर्ण छ आज पनि
भोका चुल्हामा नुनको अभाव
जस्ताको त्यस्तै छ
सन्तान आमाबाट
हिजोजसरी नै बिछोडिँदैछन्
आमाले हेर्ने खिड्कीबाट
आकाश जहाँको त्यहीँ छ ।
कुनै दुनियाँमा केही बदलिएन
बदलिए मान्छेहरू
र दोषी ठहर्याए निर्दोष समयलाई
अब समय
सामन्ती र शोषक
बूढा रुखहरू ढलिदिए
हट्ने थियो
देशको शीरमाथि थुपारिएका
फोहोरका डङ्गुरहरू
बदलिन्थे होला भोका चुलाहरू
बदलिन्थे होला सन्तानहरू
सकिन्थ्यो होला विभेद
सकिन्थे होला अभावहरू
हुँदैन थिए होला
आमाका आँसु देख्ने खिडकीहरू
कसैले त !
आगोजस्तै
जूनजस्तै
घामजस्तै
भएर बदलिदिए हुने
मेरो
र वर्षौँदेखि रोइरहेको
मेरो देशको नियति ।