टेलिसिरियल 'जुठे' आउँदो साताबाट नियमित प्रसारणमा आउने निर्देशक तथा कलाकार मरिचमान श्रेष्ठ (बल्छी धुर्बे) ले सामाजिक सञ्जालमार्फत जानकारी गराएका छन् । जातीय विभेद र छुवाछुतको विषयलाई समेटी बनाइएको उक्त सिरियल अर्को साता असार १६ मा भाग १४ लिएर आउने बताइएको छ ।
निषेधाज्ञा र दलित समुदायको विरोधका कारण बन्द रहेको सिरियल फेरि सुरु हुने कलाकार मरिचमानले बताएका छन् । उनले राष्ट्रिय दलित आयोगका अध्यक्ष देवराज विश्वकर्मासँग जुठेका विषयमा भएको छलफल निकै सकारात्मक रहेको बताएका छन् । यो सिरियल हिमालय टेलिभिजनबाट प्रसारण हुँदै आएको छ । यसमा मरिचमान श्रेष्ठ र राजु पौडेलको संयुक्त लेखन तथा निर्देशन रहेको छ भने रवि गिरी, विद्या कार्की, रामबाबु रेग्मी, मुकुन्द मैनाली, शर्मिला शर्मालगायतका कलाकारको अभिनय रहेको छ ।