पुस १२, २०८० बिहिबार

रामपुर (पाल्पा) १२ पुस : रामपुर नगरपालिकाले कृषि क्षेत्रलाई प्राथमिकता दिएर सहुलियतमा कृषि सामग्री किसानलाई उपलब्ध गराएको छ । मागमा आधारित विभिन्न कृषि सामग्री वितरण कार्यक्रमअन्तर्गत किसानको मागका आधारमा कृषि सामग्री वितरण गरिएको हो । 

     यस आवका लागि मागमा आधारित कार्यक्रम शीर्षकमा तरकारी खेतीका लागि प्लास्टिक टनेल र स्प्रेयर गरी ९७ थान किसानलाई प्रदान गरिएको कृषि शाखाका प्राविधिक युवराज नेपालीले बताउनुभयो । किसानबाट प्राप्त निवेदनका आधारमा कृषि समूह, सहकारी तथा व्यावसायिक फार्म, अगुवा कृषकलाई ५० प्रतिशत अनुदानमा सो सामग्री उपलब्ध गराइएको जनाइएको छ । 

    प्लास्टिक टनेलका लागि एक सयको सङ्ख्यामा माग आएकामा प्राथमिकतामा आधारमा ५५ जना र ८५ स्पे्रयरको माग आएकामा ४२ जनालाई ५० प्रतिशत अनुदानमा वितरण गरिएको नगरपालिकाले जनाएको छ । नगरपालिकाको रु दुई लाख २० हजार लागतमा सामग्री खरिद गरी कार्यालय परिसरबाट किसानले सामग्री बुझेका छन् । 

     तरकारी खेतीलाई व्यावसायिकरण गर्न र बाहिरबाट आयातित तरकारी न्युनिकरण गर्नका लागि किसानको आवश्यकता र मागअनुसार हरेक वर्ष विभिन्न कृषिजन्य उपकरण प्रदान गर्दै आइरहेको नगरपालिकाका प्रमुख रमणबहादुर थापा बताउनुहुन्छ । कृषिजन्य सामग्री सहुलियत मुल्यमा पाउँदा किसानलाई सामग्री खरिदमा समस्या नभएको कृषक मित्रलाल गैरेले बताउनुभयो । 

     “कृषि उपकरण खरिद गर्न नसक्ने अवस्थाका किसान छन्, स्थानीय सरकारले सहुलियत मूल्यमा सामग्री दिन थालेपछि व्यावसायिक खेतीमा आकर्षण बढ्दो छ”, उहाँले भन्नुभयो । नगरपालिकाले तरकारी खेती, फलफूल, धान, गहुँ, मकैलगायत विभिन्न बालीको बीउ अनुदानमा हरेक वर्ष उपलब्ध गराउँदै आएको छ ।