कञ्चनपुर, १३ पुस : सुदूरपश्चिम वन निर्देशनालयका निर्देशक हेमराज विष्टले सामुदायिक वनका उपभोक्ताको चाहनाअनुसार दिगो वन व्यवस्थापन कार्यक्रम सञ्चालन गरिने बताउनुभएको छ ।
शुक्लाफाँटा नगरपालिका–८ स्थित भगवती सामुदायिक वन उपभोक्ता समूहको २१ औँ वार्षिक साधारणसभामा उहाँले उपभोक्तालाई सुसूचित नगरिकन कार्यक्रम सञ्चालन नगरिने बताउनुभयो ।
“सुदूरपश्चिम प्रदेश सरकारको चालु आवको नीति तथा कार्यक्रममा दिगो वन व्यवस्थापन कार्यक्रम सञ्चालन गरिने प्रतिवद्धता गरिएको थियो”, विष्टले भन्नुभयो, “सोहीअनुरुप कार्यक्रम सञ्चालनका लागि कार्यविधि बनाउने तयारी भइरहेको छ ।” कार्यविधि निर्माण भएपछि आगामी आर्थिक वर्षदेखि कार्यक्रम सञ्चालन हुने उहाँको भनाइ थियो ।
कार्यक्रम लागू भएपछि सामुदायिक वनलाई व्यवस्थित गरी वनपैदावारमा प्रदेशलाई आत्मनिर्भर बनाउने लक्ष्य लिएको विष्टले बताउनुभयो । विदेशबाट आयत हुने काठलाई विस्थापित गर्न कार्यक्रमले सघाउ पुर्याउने उहाँले विश्वास व्यक्त गर्नुभयो ।
सडक छेउमा सुकेका रुख हटाउन कानुनी अड्चन रहेको चर्चा गर्दै वन निर्देशनालयका निर्देशक विष्टले मन्त्रिपरिषद्को निर्णय विना सडक छेउका रुख हटाउन नसकिने बताउनुभयो । “प्रधानमन्त्रीले वन ऐनलाई खुकुलो बनाउन संशोधन गरिने कुरा राष्ट्रका नाममा सम्बोधन गर्ने क्रममा बोल्नुभएको छ”, उहाँले भन्नुभयो, “ऐन संशोधन भएर आएपछि मात्रै देखिँदै आएका कानुनी अड्चन हट्न सक्छन् ।”
सामुदायिक वनले जनजाँगरणका साथै विकास, सामाजिक कार्यमा महत्त्वपूर्ण योगदान पुर्याएको विष्टले बताउनुभयो । वैज्ञानिक वन व्यवस्थापन कार्यक्रमबारे सम्बन्धित पक्षलाई बुझाउन नसक्दा यसको कार्यान्वयन अड्चन आएको उहाँको भनाइ थियो ।