पुस १३, २०८० शुक्रबार

गण्डकी, १३ पुुस : अन्नपूर्ण आधार शिविरको प्रस्थान विन्दु कास्कीको अन्नपूर्ण गाउँपालिका–११ स्थित छोम्रोङमा २२ औँ सेञ्चुरी ल्होसार मेला २०८० आजदेखि सुरू भएको छ । 
    
परम्परागत ल्होसार संस्कृति जगेर्ना गर्ने उद्देश्यका साथ सेञ्चुरी युवा क्लबले प्रत्येक वर्ष छोम्रोङमा मेला आयोजना गर्दै आएको छ । मेलाका अवसरमा परम्परागत संंस्कृति जगेर्ना विभिन्न कार्यक्रमका साथै प्रतियोगिता पनि सञ्चालन गरिने क्लबका अध्यक्ष मिकास गुरुङले जानकारी दिनुुभयो ।
    
उहाँका अनुसार मेलामा क्लबस्तरीय पुरुष भलिबल र बास्केटबल, ठेलो, रस्साकस्सी र घैँटो फुटाउने प्रतियोगिता गरिनेछ । पुरुष भलिबल प्रतियोगिताका विजेताले रु ५० र उपविजेताले रु ३० हजारसहित  ट्रफी, पदक र प्रमाणपत्र पाउने अध्यक्ष गुरुङले जानकारी दिनुुभयो ।

त्यस्तै बास्केटबल प्रतियोगिताका विजेता र उपविजेताले क्रमशः रु ३० हजार र २० हजारसहितका पुरस्कार पाउने छन् । भलिबलमा १२ र बास्केटबलमा १७ टोलीबीच प्रतिस्पर्धा हुनेछ । ठेलो हान्ने प्रतियोगिताको विजेता र उपविजेताले क्रमशः रु १० हजार र रु पाँच हजारसहितका पुरस्कार पाउने उहाँले बताउनुुभयो ।

मेला शुभारम्भ गर्दै गण्डकी प्रदेशसभा सदस्य प्रकाश बरालले अन्नपूर्ण आधार शिविर जाने पदमार्गको मुख्य प्रस्थान विन्दुका रुपमा रहेको छोम्रोङको पर्यटकीय महत्व विशेष रहेको बताउनुुभयो । अन्नपूर्ण आधार शिविर पदमार्ग स्तरोन्नति गर्न प्रदेश सरकारसँग बजेटका लागि पहल गर्ने र छोम्रोङमा अधुरो रहेको टेनिस कोर्ट निर्माण पूरा गरिने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो ।
    
अन्नपूर्ण गाउँपालिका–११ का वडाध्यक्ष हिमबहादुर गुरुङले केन्द्रीय विद्युत्को पहुँच अन्नपूर्ण आधार शिविरसम्म पु¥याउन पहल भइरहेको जानकारी दिँदै त्यसका लागि टेण्डर आह्वान भएर कार्यान्वयनको अन्तिम चरणमा पुगेको बताउनुुभयो । मेलाको पहिलो दिन आज साँझ अन्नपूर्ण ब्याण्ड गुञ्जिएको र अन्य दिन लोकदोहोरी कलाकार र आदिम कला मञ्चले आफ्नो प्रस्तुति दिने आयोजकले जनाएको छ ।