पुस १३, २०८० शुक्रबार

अछाम, १३ पुस :  अछाम र बाजुरा जोड्ने बुढीगङ्गामा बिराबगर मोटरेबल पक्की पुलको उद्घाटन गरिएको छ । आज सुदूरपश्चिम प्रदेश सरकारका भौतिक पूर्वाधार विकासमन्त्री प्रकाश देउवाले पुलको उद्घाटन गर्नुभयो ।

    मन्त्री देउवाले पुलसम्म पुग्ने बाटोको स्तरोन्नतिका लागि आवश्यक बजेट विनियोजन गर्ने प्रतिबद्धता जनाउनुभयो । विसं २०७२ बाट निर्माण सुरु भएको पुल गत असारमा सम्पन्न भएको थियो । पुलको लागत रु पाँच करोड ४१ लाख १३ हजार रहेको छ ।

    विगत लामो समयदेखि पुल नबन्दा यस क्षेत्रका नागरिकले आवतजावतमा सास्ती खेप्दै आएका मेल्लेख गाउँपालिकाका उपाध्यक्ष नृपबहादुर खड्काले बताउनुभयो । पुल निर्माण सम्पन्न भएसँगै अछामको मेल्लेख गाउँपालिका र बाजुराको बुढीगङ्गा नगरपालिकामा यातायातको सहज पहुँच पुगेको उहाँले बताउनुभयो ।