नयाँ दिल्ली । गदर–२ को सफलतापछि सनी देओल अहिले मख्ख छन् । सनी बलिउडका यस्ता स्टार्समा पर्दछन् जो थोरै तर दमदार फिल्ममा काम गर्न मन पराउँछन् । उनी बलिउडका पार्टीहरूमा पनि हत्तपत्त जाँदैनन् । हालै मात्र सनीले आफ्नो निजी जीवनबारे कयौँ कुराकानी शेयर गरेका छन् । बलिउड इन्डष्ट्रिजमा धेरैले उनलाई घमन्डी भन्छन् । यसबारे पनि उनले कुरा गरेका थिए ।
सनी देओल बिहान चाँडै उठ्छन् । मान्छेहरूसँग प्रत्यक्ष भेटघाट गर्न उनलाई मन पर्छ । घरबाहिर निस्किएको बेलामा उनी आफ्नो फ्यान र साथीभाइहरूसँग भेटघाट गर्न रुचाउँछन् । ‘म पार्टीमा जाने मान्छे नै होइन, मैले पार्टीमा जान बन्दै गरिदिएको पनि होइन । म पहिलादेखि नै यस्तै थिए । मलाई पार्टीमा जान मनै पर्दैन । त्यसैले मान्छेहरू आफूलाई घमन्डी भन्छन्,’ एनडीटीभीसँगको कुराकानीमा उनले भनेका छन् ।
‘पहिला धेरै मानिस मेरो यस्तो प्रकृतिलाई मन पराउँदैनथे । उनीहरूलाई म निकै घमन्डी भए झैँ लाग्थ्यो । म ड्रिङ्क पनि गर्दिन । तर बिस्तारै बिस्तारै मान्छेहरूले मलाई बुझ्न सुरु गरे । त्यसपछि उनीहरूले थाहा पाए कि म यस्तै छु । उनीहरूले मलाई पार्टीमा बोलाउनै बन्द गरे । उनीहरूलाई थाहा थियो नि त म आउँदिन ।’
प्रमोशनल इभेन्ट पनि मन पर्दैन
सनी देओल भन्छन् कि उनलाई बलिउडको पार्टी मात्रै होइन, फिल्म रिलिजको बेलामा हुने प्रमोशनल कार्यक्रम पनि मनै पर्दैन । मान्छेहरूले आफूलाई घमन्डी भनेपनि वास्तवमा उनलाई थाहा छ आफ्नो कामलाई महत्त्व कसरी दिने भनेर । कुराकानीमा सनीले रणवीर कपूर र बबी देओलको फिल्म एनिमलबारे पनि कुराकानी गरेका थिए । फिल्मको क्लाइमेक्स सिन हेर्न नसकेर उनी सिटबाट उठेर बाहिर गएका थिए । गदर–२ को सफलतापछि सनीले रणवीर कपुरको रामायणमा हनुमानको भूमिका गर्न सक्ने खबरहरू आइरहेका छन् । यसबारे पुष्टि भने भइसकेको छैन ।