कञ्चनपुर, २० पुस : कञ्चनपुरको महाकाली नदीको ओदाली ऐरीस्थित हरिहर स्नान घाटमा मकरमेला तथा धार्मिक पर्यटन महोत्सव आयोजना गरिने भएको छ । वैजनाथ सिद्धनाथ मन्दिर सेवा समितिले मेला तथा महोत्सवको आयोजना गर्न लागेको हो ।
मेलाका लागि प्रचारप्रसार सुरु गरिएको छ । मेला आयोजक समितिका सदस्य कृष्णसिंह देउवाका अनुसार मेला पुस २२ गतेदेखि फागुन २५ गतेसम्म लाग्नेछ । धार्मिक पर्यटनलाई बढावा दिन मेला आयोजना गर्न लागिएको उहाँले बताउनुभयो ।
“पुस २२ गते धर्मध्वज पुजन गरी मेलाको प्रारम्भ गरिनेछ”, मेला सम्पर्क समितिका संयोजक नरबहादुर साउदले भन्नुभयो, “पुस २८ गतेदेखि माघ १ गतेसम्म विभिन्न सांस्कृतिक कार्यक्रम आयोजना गरिनेछ, त्यसपछि नरहरि सङ्क्रान्तिका दिन महास्नान, कुम्भ स्नानको कार्यक्रम फागुन १ गते राखिएको छ ।”
वसन्तपञ्चमीका दिन महास्नान, माघपूर्णिमा माघ स्नानपूर्ति, महाशिवरात्रिमा विशेष स्नानको कार्यक्रम राखिएको छ । गङ्गा दशहराका दिन वैजनाथ सिद्धनाथ मन्दिरमा धाम पूजाको मुख्य पर्वका रुपमा मनाइने कार्यक्रम तय गरिएको साउदको भनाइ छ ।
धार्मिक मान्यताअनुसार महाकाली नदीलाई पवित्र नदीका रुपमा लिइन्छ । नदीमा मकरसङ्क्रान्तिका बेला वर्षौं पहिलेदेखि भक्तजनले स्नान गर्दै आएका छन् । यस नदीमा स्नान गरे सबै पापकर्म हटेर जाने जनविश्वास रहेको छ ।