– टीका खतिवडा
मङ्गलबारे, २३ पुस, ः इलाम देउमाईका दिननाथ बाँस्तोला विगतलाई सम्झिएर भन्नुहुन्छ, ‘‘काँधमा हलो र जुवा बोक्नु पथ्र्यो, गोरुलाई अघाएर मात्र जोत्न लैजानुपर्ने हुन्थ्यो ।’’ उहाँले भनेजस्तै पहिला एक हल (दुई वटा) गोरु अगाउनु, मेलासम्म लैजानु र हल गोरु नारेर जोत्नु सजिलो काम थिएन । दुई वटा गोरु, जोत्न एक जना मानिस आवश्यक पर्दथ्यो । बाली जोगाउन छेक्ने मान्छे पनि । अनि हलो निर्माण र हलोमा प्रयोग हुने अनौ, हरिस, पाड्को जुटाउन पनि त समय र पैसा खर्चिनु पर्दथ्यो । गोरुको काँधमा प्रयोग हुने जुवा, जुवामा लगाउने ठेस्सी, हल्लुण र बाँध्ने डोरी जुटाउन उत्तिकै समय खर्चिनु पर्दथ्यो ।
अब यहाँका किसानलाई यो झन्झट र अतिरिक्त खर्चको समस्याको समाधान भएको छ । अहिले गाउँगाउँमा हाते ट्याक्टर पुगेको छ । पहिला दिनभर जातेजति अहिले हाते ट्याक्टरबाट घण्टा नबित्दै हुन थालेको छ । हरेक किसानसँग हाते ट्याक्टर नभए पनि अर्काको भाडामा ल्याएर पनि काम चलाउन थालेका छन् ।
खेतबारी जोत्न हाते ट्याक्टरको प्रयोग भएको मात्र होइन, गाउँगाउँमा काठ, दाउरा काट्न पनि मेसिनको प्रयोग गर्न थालिएको छ । जङ्गलमा काठ काट्न र चिर्न समेत चेन्सो मेसिनको प्रयोग हुन थालेपछि बन्चरो, खुर्पाको प्रयोग हुन छाडेको छ । महिनौँ लाग्ने काम एकै दिनमा सम्भव भएको स्थानीय डीक राईले बताउनुभयो ।
यहाँ काठ प्राय ठिक्कामा काट्ने गरिन्छ । एक ठिक्का (एक ठिक्कामा एक हजार फुट हुन्छ) काठ काट्न करिब महिना दिन लाग्थ्यो । तर मेसिनले दुई दिनमा नै काटेर भ्याइन्छ काठ काट्ने मानिस (आरावाल) लाई खाजा र खाना समेत काट्न लगाउनेले ब्यहोर्नु पर्दथ्यो । जङ्गलमा कटान गरिएको काठको ढुवानी पनि अब मानिसले बाकेर नभई ट्याक्टर वा पिकअपको प्रयोग गर्ने गरिएको छ ।
हाल पहाडी क्षेत्रका गाउँगाउँ मात्र हैन घरघर सडक पुगेको छ । सडक र सवारीले थपेको सहजताले स्थानीय वासिन्दाको जीवनशैली नै फेरिएको छ । पहाडी जिल्ला इलाम सहित पाँचथर, ताप्लेजुङ लगायतका जिल्लामा झापाको शनिश्चरेबाट नुन बोकेर ल्याउनुपर्र्ने बाध्यता थियो ।
त्यतिबेला सात दिनसम्म भारी बोकेर मात्र घरसम्म नून ल्याउन सकिन्थ्यो । ‘‘नून लिन जाँदा खाने र बाटोमा बस्ने बन्दोबस्त समेत गर्नु पर्दथ्यो । मकै भुटेर दौराको फेरमा पोको बनाएर पनि गइयो नि’ विगतका दिन सम्झँदै वृद्ध हरिकुमार राई भन्नुहुन्छ, “अहिले त निकै सुविस्ता भएको छ । यस्ता दिन पनि आउलान् भनेर मैले त सपनामा पनि देखेको थिइन ।’’ निर्माण व्यवसायमा पनि प्रविधिले निकै सजलो बनाएको गाउँलेहरु बताउँछन् । झम्पल र कोदालोले सडक निर्माण गर्नु पर्ने बाध्यता समेत हटेको छ । सडक निर्माणकै क्रममा ढुङ्गा भेटिए महिनौँ दिन लगाएर हम्मरले हानेर फोर्नु पर्ने बाध्यता थियो । हाल एक्स्काभेटर प्रयोग गरेर सडक निर्माण हुन्छ । महिनौँ लाग्ने काम एकै दिनमा सम्पन्न हुन्छ ।
प्रविधिको कुरा गर्दा सञ्चार क्षेत्रमा भएको प्रविधिको विकासले सोच्नै नसकिने परिवर्तन ल्याएको गाउँलेहरुको भनाइ छ । हुलाकमार्फत महिनौँ लगाएर चिठी घरघरसम्म पु¥याउने दिनको समाप्त भएको छ । फोन र इन्टरनेटबाट सेकेन्डमा कुरा त्यो सम्भव भएको छ । प्रायः सबैका हातहातमा मोवाइल फोन भएकाले सञ्चार निकै सहज बनेको छ ।
सामाजिक सञ्जालको विकासले संसारलाई खुम्च्याइदिएको महसुस हुन थालेको छ । सञ्चारका माध्यमबाट संसारका हरेक घटना प्रत्यक्ष हेर्ने अवसरसहज भएको छ । अब ग्रामीण किसानलाई धान काट्न खेताला खोज्नु पर्ने दिनको समेत अन्त्य हुँदै गएको छ । थ्रेसरको प्रयोगले काम छिटो सम्पन्न हुन थालेको छ । कृषिमा यान्त्रीकरणले किसानलाई काम गर्न सहज भएके कृषि ज्ञान केन्द्रका प्रमुख टोनी बर्देवाले बताउनुभयो । उहाँका अनुसार प्राय अब आधुनिक औजार गरेर नै जिल्लामा खेती हुन थालेको छ ।
कतिपय स्थानीय तहले समेत अनुदानमा उपकरण वितरण गर्ने गरेका छन् । सहकारी वा समूहमार्फत मात्र नभएर पछिल्लो समय ब्यक्तिलाई समेत सामग्री वितरण गर्न थालिएको छ । खेती किसानमा प्रयोग हुने औजारदेखि सूचना आदानप्रदानमा प्रयोग हुने चिठीपत्र, घरायसी प्रयोजनमा आउने ढिकी जाँतो, फुसको छानो विस्थापित हुँदै गएको छ । अब आधुनिक उपकरणहरुबाट दूध प्रशोधन, घरघरमा इन्टरनेट र वाइफाई, विद्यालयमा कम्प्युटर शिक्षा, गाउँगाउँमा यातायात, मोबाइल बैंकको प्रयोग बढ्न थालेको छ ।
जनताको दैनिकी समेत निकै फेरिएको छ । पहिला हातले टिप्ने चिया हाल मेसिनको प्रयोगले हुन थालेको छ । दाउरा बालेर खाना पकाउने समय थियो । पछिल्लो समय ग्यास हुँदै विद्युतीय उपकरण प्रयोग गरेर खाना पकाउन थालिएको छ । घण्टौँ सम्म धाएर विद्यालय जानु पर्ने समस्या थियो । हाल घरघरमा विद्यार्थी बोक्न बसको प्रयोग भएको छ ।
देशमा विकास केही भएन भनेर निराशा व्यक्त गर्ने युवाहरुलाई अघिल्लो पुस्ताका बाबुबाजेहरुले सोच्नै नसकेको परिवर्तन र विकास भएको बताउने गर्दछन् । सरकारले देशमा नै रोजगारीको सिर्जना गरी युवा शक्ति पलायन हुनबाट रोक्न आवश्यक रहेको बुढापाकाहरुको भनाइ छ । लगानीमैत्री वातावरण बनाउन नसक्नु र भ्रष्टाचारलाई शून्यमा झार्न सके मात्र धेरै समस्याको समाधान टरेर जाने उनीहरु बताउँछन् ।