पुस २३, २०८० सोमबार

काठमाडौँ, २३ पुस (रासस) : नेपालका एकजना प्रबुद्ध तथा बौद्धिक व्यक्तित्व गोकुलप्रसाद पोखरेल अब हाम्रो सम्झनामा मात्र सीमित हुनुभयो । उहाँको निधनले नेपालको शैक्षिक, सामाजिक तथा पत्रकारिता क्षेत्रमा एक उज्ज्वल नक्षत्रको अस्त भएको छ । राष्ट्रका सबै तह र तप्काका व्यक्ति एवम् सङ्घसंस्थाले गोकुल पोखरेलको महाप्रस्थानमा एक अमूल्य रत्न गुमाएको अनुभव गर्दै सोही अनुसारका उद्गारसमेत सार्वजनिक गरेका छन् । नेपालका अग्रज पत्रकारका रूपमा नेपाली पत्रकारिताको विकास र उन्नयनका लागि उहाँले गर्नुभएको योगदानको विषयमा विमर्शहरू भएका छन् । वास्तवमा पोखरेल पत्रकारितामा मात्र नभएर प्राध्यापन तथा सामाजिक सेवामा पनि उत्तिकै महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुभएका हस्ती हुनुहुन्थ्यो ।

    धनकुटामा पण्डित छविलाल पोखरेलको साइलो पुत्रका रूपमा जन्मनुभएका पोखरेलले धनकुटाकै गोकुण्डेश्वर हाइस्कुलबाट प्रवेशिका र बनारस हिन्दू विश्वविद्यालयबाट उच्च अध्ययन पूरा गर्नुभएको थियो । उहाँले आफ्नो जन्मथलोको धनकुटा कलेजमा २०१९–०२० सालतिर अङ्ग्रेजी विषयको अध्यापकका रूपमा प्राध्यापकीय क्षेत्रमा प्रवेश गर्नुभएको थियो । उक्त कलेजमा अङ्ग्रेजी विषय पढाउने पहिलो नेपाली शिक्षक उहाँ नै बन्नुभयो । त्यसबेलामा धरान, विराटनगरलगायतका कलेजमा अङ्ग्रेजी अध्यापकको खाँचो थियो । उहाँले ती कलेजमा पनि पठनपाठन गर्ने अवसर पाउनुहुन्थ्यो तर अध्यापनका लागि धनकुटा नै रोज्नुभयो । 

    धनकुटा, धरान तथा विराटनगरमा २०१२ सालमा कलेज खुलेका हुन् । ती सबै कलेजमा प्रायः सबै विषयमा अध्यापनका लागि भारतबाट नै शिक्षक ल्याउनु पर्दथ्यो । यस स्थितिमा उहाँलाई सबैतिरबाट अध्यापनका लागि अनुरोध आउनु स्वभाविकै थियो । किन हो कुन्नि पछि काठमाडौँले उहाँलाई तान्यो । काठमाडौँ आएर भक्तपुर कलेजमा अङ्ग्रेजी विषयकै प्राध्यापक भई केही वर्ष सेवा गर्नुभयो । विसं २०३० मा राष्ट्रिय शिक्षा पद्धतिको योजना लागू भएपछि उहाँले प्राध्यापनलाई निरन्तरता दिनु भएन । तर, त्रिभुवन विश्वविद्यालयमा पत्रकारिता विषयको पठनपाठन सुरु भएपछि भने उक्त विषयको पाठ्यक्रम निर्माणलगायतका भूमिका निर्वाह गर्दै अध्यापनमा पनि सरिक हुनुभयो । उहाँ पत्रकारिता विज्ञ भएर त्रिभुवन विश्वविद्यालयका विविध शैक्षिक परियोजनामा समेत संलग्न हुनुभएको थियो । आफूलाई पत्रकारभन्दा प्राध्यापक भन्न रुचाउने उहाँको स्वभाव थियो ।

    विसं २०३० पश्चात् राष्ट्रिय संवाद समिति, पछि राष्ट्रिय समाचार समितिमा सरिक हुनुभयो । उहाँले राससको महाप्रबन्धक तथा गोरखापत्रको प्रधानसम्पादकको अनुभव समेत बटुल्नुभयो । उहाँ कालान्तरमा गोरखापत्र संस्थानसँग जोडिन पुग्नुभयो । गोरखापत्र, युवामञ्च, युवाजस्ता प्रकाशनमा स्तरीयता कायम गर्न ठूलो कसरत पनि गर्नुभयो । अङ्ग्रेजी र नेपाली दुवै भाषामा बराबर कलम चल्ने नेपालका अग्रज पत्रकारका रूपमा पनि उहाँ अग्रणी हुनुहुन्थ्यो । 

    नेपालमा पत्रकारिताको विकासका लागि सरकारी प्रयास मात्र पर्याप्त नभएको महसुस गरी भारतदत्त कोइराला, पद्मासना शाक्यलगायतका केही सहयोगीका साथ ‘नेपाल प्रेस इन्स्टिच्युट’को स्थापना गर्नुभयो । उक्त संस्थाबाट दीक्षित भएका व्यक्तिहरू हाल देशकै मूर्धन्य पत्रकार बन्न पुगेका छन् । नेपालमा पत्रकारिता ‘आइसल्यान्डमा सर्प’ जस्तै भएको तत्कालीन सन्दर्भमा त्यस संस्थाले पत्रकारिता विकासको संवाहक हुन सक्छ भन्ने तथ्य प्रमाणित ग¥यो । गोकुल पोखरेल जस्ता सारथिकै कारण पत्रकारिता एवं आमसञ्चारले अभूतपूर्व प्रगति गरी आजको स्थितिमा पुग्न सफल भएको हो । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानलगायत अनेकौँ निकायमा आमसञ्चार विज्ञ भई सेवा गर्नुभएका पोखरेलले आफूलाई सदैव ‘लो प्रोफाइल’मै राख्न रुचाउनुभयो । 

    गोकुल पोखरेल नेपाली समाज सेवाको इतिहासमा समेत स्थापित नाम हो । नेपाल परिवार नियोजन सङ्घको अध्यक्ष भई त्यस संस्थालाई नेपालभरि फैलाउन उहाँ सफल हुनुभयो । यसका साथै आर्य समाज नेपालको अध्यक्ष भई आर्य समाजको आदर्श र सिद्धान्त समाजको रूपान्तरणका लागि आवश्यक भएको वकालत गरिरहनुभयो । नेपाल आँखा अस्पतालको संस्थापक सदस्य भई त्यस संस्थाको सञ्चालक समितिको महासचिवका रूपमा एक कार्यकाल पूरा गर्नुभयो । उहाँले नेपाल जनहित गुठीका उपाध्यक्ष तथा विश्रान्ती मन्दिर धनकुटा जस्ता अनेकौँ सामाजिक सङ्घसंस्थामा रही सेवा गर्नुभएको थियो । मानव अधिकार आयोगमा समेत आयुक्त भई कार्यसम्पादन गर्नुभएका पोखरेल मानवताका एक सरल पात्र हुनुहुन्थ्यो ।

    कुनै राजनीतिक दल वा राजनीतिक सङ्गठनसँग संलग्न हुन नचाहने उहाँको स्वभावका कारण राजनीतिक पार्टीहरूले पनि उहाँको अनुभवबाट फाइदा लिने चाहना राखेनन् । सबैतिर उग्र राजनीतिकरण हुँदै जाँदा शिक्षा क्षेत्रमा देखिएको अस्तव्यस्तताप्रति सदैव उहाँ चिन्तित हुनुहुन्थ्यो । उहाँ प्रबुद्ध वर्ग चुप लागेर बस्न हुँदैन, देखेको कुरा बोल्नु र लेख्नुपर्छ भन्ने सल्लाह दिनुहुन्थ्यो । उहाँले राम्रो कार्यको सराहना गर्न कहिल्यै कन्जुस्याइँ गर्नुभएन । संक्षेपमा भन्ने हो भने आँखामा हाल्दा पनि नबिझाउने कोही थियो भने गोकुल पोखरेल नै हुनुहुन्थ्यो । मृत्यु शाश्वत सत्य छ । यही पुस १६ गते ८८ वर्षको उमेरमा काठमाडौँमा उहाँको निधन भयो ।  यस्ता महान् व्यक्तित्वले उठान गरेका कार्यलाई निरन्तरता दिएमा नै उहाँप्रति सच्चा श्रद्धाञ्जलि हुनेछ ।