पुस २४, २०८० मंगलबार

त्रिशूली (नुवाकोट) २४  पुस : नेपाल एकीकरणका क्रममा तत्कालीन राजा पृथ्वीनारायण शाह हिँडेको बाटो पछ्याउँदै गोरखाबाट सुरु भएको नेपाली सेनाको ‘एकीकरण टर्च र्‍याली’ नुवाकोटको चतुरालेमा पुगेको छ । 

    सोमबार नुवाकोट आइपुगेको र्‍याली यहाँबाट आज काठमाडौँतर्फ प्रस्थानको क्रममा आज ककनी गाँउपालिका–७ चतुरालेमा पुगेको हो । ‘एकीकरण पदमार्ग–पदयात्रा’ दीप ज्योतिसहित संलग्न र्‍यालीलाई आज नुवाकोट दरबार क्षेत्र परिसरमा आयोजित विशेष समारोहमा विदुर नगरपालिकाको प्रमुख राजन श्रेष्ठ र नुवाकोटका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले स्वागत बिदाइ गर्नुभयो । नुवाकोट दरबारबाट काठमाडौँका लागि प्रस्थान गरेको र्‍याली मङ्गलबार ककनीमा बाँस बस्ने र पुस २६ गते काठमाडाैँ प्रवेश गर्ने जबरजङ्ग गण देवीघाटका सेनानी काजीमान श्रेष्ठले जानकारी दिनुभयो । 

    उहाँको अनुसार  ‘गोरखा–काठमाडौँ’ एकीकरण टर्च र्‍यालीले सबैभन्दा लामो दुरीको यात्रा नुवाकोटको भूमि पूरा गर्न तीन दिन लाग्नेछ । “विशाल नेपाल एकीकरणको समयमा प्रयोग गरिएको पदमार्गको संरक्षण, पर्यटन प्रवर्द्धन तथा पुर्खाले पुर्‍याएको योगदानको सम्मान युवा पिँढीलाई राष्ट्रभाव उत्पन्न गराउन र्‍यालीलाई महत्वका रुपमा लिइएको छ”, सेनानी श्रेष्ठले भन्नुभयो, “एकीकरण पदमार्गमा पर्ने कोट, पाटीपौवा, गढी, सैनिकले तालिम गरेका मैदान, ऐतिहासिक धार्मिक तथा पुरातात्विक संरचनाको संरक्षणमा सहयोग पुग्नेछ ।”

    पृथ्वीनारायण शाहले पुर्‍याएको योगदानको महत्व पछिल्ला वर्षमा कमजोर बनाइएको समयमा नेपाली सेनाको नेतृत्वमा सञ्चालन गरिएको ‘एकीकरण टर्च’ र्‍यालीलाई अर्थपूर्ण रुपमा हेरिएको विदुर नगरपालिकाका प्रमुख श्रेष्ठले बताउनुभयो ।

    गोर्खाली फौजले विसं १८०१ असोज १५ मा नुवाकोटमाथि जीत हासिल गरी उपत्यका प्रवेश गर्दै नेपाल एकीकरणमा पाएको थप सफलताले विशाल नेपाललाई एउटै मालामा गाँस्न सफल भएको सन्देशलाई ‘एकीकरण टर्च’ र्‍यालीमार्फत सकारात्मक सन्देश प्रवाह भएको उहाँको भनाइ छ । 

    गोरखाबाट धादिङ–नुवाकोट हुँदै काठमाडौँसम्मको पदमार्ग ‘रुमाले’ २६ कोष पर्दछ । र्‍यालीले यस पदमार्गमा पर्ने कोट तथा गण र किल्लाहरु सम्वर्द्धन, संरक्षण तथा प्रबद्र्धन गर्ने लक्ष्य राखिएको छ ।

    यही पुस २१ गते गोरखाबाट सुरु भएको र्‍याली सोमबार नुवाकोट आइपुगेको हो । यही पुस २६ गते काठमाडौ प्रवेश गर्ने लक्ष्य बनाएर दीप ज्योतिसहितको र्‍याली अघि बढेको छ ।

    र्‍यालीमा सहभागी सैनिक पृथ्वीनारायण शाहको समयमा उहाँको फौजले नै प्रयोग गरेको जस्तै पोशाक र हातहतियारमा सजिएका छन् । ‘एकीकरण टर्च’ मा पृथ्वीनारायण शाहले नै स्थापना गरेको नेपाली सेनाका प्रथम पाँच कम्पनीहरु श्रीनाथ, कालीबक्स, पुरानो गोरख, बर्दबहादुर र सबुजका झण्डा साथमा नेपालको राष्ट्रिय झण्डा र दीपज्योति र कलशसहित यात्रारत छन् । 

    नुवाकोटबाट काठमाडौँतर्फ जान लागेको टोलीलाई पुस २६ गते जबरजङ्ग गण नुवाकोटले काठमाडाँैस्थित कालीध्वज गणलाई ‘एकीकरण टर्च’ हस्तान्तरण गर्ने छ ।