माघ २, २०८० मंगलबार

जानकी (बाँके), २ माघ ः नेपालगञ्जका हरित अभियानकर्मी

भारतको हरियाणामा अन्तरराष्ट्रिय अवार्डबाट सम्मानित हुनुभएको छ । लेक्स फाउन्डेसनको आयोजनामा  भारतको हरियाणामा सोमबार आयोजित दुईदिने अन्तरराष्ट्रिय सम्मेलनमा उहाँ सम्मानित हुनुभएको हो ।

    हरित अभियानकर्मी हेमन्तलाई बिजेपीका विधानसभा सांसद मोहनलाल बडोलीले सम्मान गर्नुभएको थियो । योभन्दा पहिला पनि अन्तराष्ट्रिय अवार्डबाट काफ्ले सम्मानित हुनुभएको थियो । उहाँ सन् २०२० मा समरस्ता अन्तरराष्ट्रिय अवार्ड भारत, २०२१ मा डब्लुडब्लुएफ कन्जरभेसन अवार्ड, २०२३ मा एभरेष्ट इन्टरनेसनल क्लाइमेट एक्सन अवार्ड र हालै २०२४ मा भारतको हरियाणामा ट्रिमेन अवार्डबाट सम्मानित हुनुभएको छ ।

    चालिस वर्षीय काफ्लेले झन्डै डेढ दशकदेखि नेपालगञ्जलाई कर्मथलो बनाएर हरित अभियानका रुपमा निरन्तर लागिरहनुभएको छ । ‘गिभ मी सिड आई विल गिभ यू ट्रिसु’ भन्ने मूल नाराका साथ अगाडि बढ्नुभएका काफ्लेको अभियानलाई भारत, जर्मनी, अमेरिका, दक्षिण अफ्रिकाबाट रूखका बीउ प्राप्त हुने गरेको छ ।

    विदेशी मुलुकबाट प्राप्त बीउमध्ये विशेषगरी कल्पवृक्षको बीउलाई उमारेर बिरुवा बनाई उहाँले बाँकेका विभिन्न धार्मिकस्थलमा लगाउने गर्नुभएको छ । मेरो हरित अभियानबाट प्रभावित भएर अन्य देशबाट कल्पवृक्षका बीउ उपहारमा प्राप्त हुने गरेका छन् । उहाँले भन्नुभयो, “ती कल्पवृक्षका बीउलाई बिरुवा बनाई मैले यस क्षेत्रका विभिन्न धार्मिकस्थलमा लगाउने गरेको छु ।
     
    कल्पवृक्ष अभियानअन्तर्गत नेपालका धार्मिकस्थल पशुपतिनाथ, सुर्खेतको देउती बज्यै, सल्यानको छत्रेश्वरी, प्यूठानको स्वर्गद्वारी, नेपालगञ्जको हनुमानगढीलगायत भिन्न जिल्लामा कल्पवृक्ष लगाउनुभएको छ । काफ्लेले जो कसैको विशेष दिनमा सम्झनास्वरूप कल्पवृक्ष र शीतलचिनीको बिरुवा उपहारस्वरूप दिने गरेको पनि बताउनुभयो ।

    साथै उहाँले सुरु गर्नुभएको शीतलचिनीको बिरुवा बाँड्ने अभियान संसारभर फैलिँदै गएको जनाइएको छ । हरित अभियानकर्मी काफ्लेले नेपालगञ्जका सरकारी कार्यालय, विद्यालय र सडकको ग्रिनबेल्टमा शीतलचिनीका हजारौँ बिरुवा लगाएर बाँकेलाई हरियाली बनाउनु भएको छ ।