काठमाडौं– टेलिसिरियल ‘मेरी बास्सै’ बाट लोकप्रियता कमाएका सुरोज चापागाईं (बान्द्रे) ले नयाँ टेलिसिरियल ल्याउने पक्का भएको छ । उनी अहिले सोही टेलिसिरियलको टाइटल गीतको रेकर्डिङमा व्यस्त छन् ।
बान्द्रेकै निर्देशन र लेखन रहने टेलिसिरियलमा मेरी बास्सैका कलाकारहरु पनि समेटिने बुझिएको छ ।
बान्द्रे अहिले यसको ‘स्क्रिप्ट’ लगायतका काममा छन् । चैतदेखि छायांकनमा निस्किने र वैशाख पहिलो सातादेखि प्रसारण गर्ने उनको तयारी छ । कुराकानीमा बान्द्रे भन्छन्, ‘केही स्टार कलाकार नै रहने गरी काम सुरु गरेको छु । टाइटल र कलाकारको बारेमा छिटै फाइनल हुन्छ ।’
मेरी बास्सैबाट अलग भएपछि बान्द्रे रिजर्भ जस्तो देखिएका छन् । उनी व्यवसायमा लागेको चर्चा बेला बेला भए पनि उनी रंगकर्मबाट बाहिरिएका छैनन् ।
बान्द्रे ‘मेरो स्कुल’ नाम सन्देशमूलक चलचित्र विभिन्न स्कुलमा देखाउँदै हिँडिरहेका हुन्छन् । उनी भन्छन्, ‘म मिडियामा कम आए पनि फिल्ममै व्यस्त छु । अब पुरानै काममा फर्कन्छु ।’