माघ ७, २०८० आइतबार

नयाँ दिल्ली ।  तेजा सज्जाको फिल्म ‘हनुमान’ले बक्स अफिसमा धमाकादार कमाई गरिरहेको छ । तेजा सज्जाको ‘हनुमान’ले कट्रिना कैफको ‘मेरी क्रिसमस’ र धनुषको ‘क्याप्टेन मिलर’लाई उछिन्दै बक्स अफिसमा बलियो रेकर्ड बनाएको हो । फिल्म १०० करोड क्लबमा प्रवेश गरेको छ ।

तेजा सज्जाको फिल्म ‘हनुमान’ले बक्स अफिसमा एकलौटी राज गरिरहेको छ । चलचित्रले नवौँ दिनमा पनि उत्कृष्ट कलेक्सन गरेको छ । स्याकनिल्कको रिपोर्टअनुसार ‘हनुमान’को कमाई दोस्रो शनिवार १४ करोड २५ लाख भारु थियो । शुक्रवारको कलेक्सन १० करोड ५० लाख भारु थियो । फिल्मले देशभरका सबै भाषामा ११४ करोड १० लाख भारुको व्यापार गरेको छ ।

पङ्कज त्रिपाठीको फिल्म ‘मै अटल हुँ’ जनवरी १९ मा हलमा रिलिज भएको छ । यसमा पङ्कज त्रिपाठीले पूर्वप्रधानमन्त्री अटल बिहार वाजपेयीको भूमिका निभाएका छन् । फिल्ममा पंकजको अभिनयको निकै प्रशंसा भइरहेको छ । फिल्मले समीक्षक र दर्शकहरूबाट राम्रो प्रतिक्रिया पाएको छ, तर बक्स अफिसमा यसको सुरुआत सुस्त देखिएको छ । स्याकनिल्कका अनुसार ‘मै अटल हुँ’ ले पहिलो दिन १ करोड १५ लाख भारु मात्रै कमायो । शनिवार फिल्मको कमाई १ करोड ८० लाख भारु थियो । दुई दिनमा फिल्मको कमाई २ करोड ९५ लाख मात्रै रहेको छ ।

कट्रिना कैफ र विजय सेतुपतिको ‘मेरी क्रिसमस’को अवस्था कमाइको हिसाबले सबैभन्दा खराब देखिएको छ । यो फिल्मले नवौँ दिन अर्थात् शनिवार ९५ लाखको मात्रै व्यापार गर्‍यो । हिन्दी र तमिल भाषामा रिलिज भएको यो फिल्मले अहिलेसम्म जम्मा १६ करोड २२ लाख भारुको मात्रै व्यापार गरेको छ । उता, धनुषको ‘क्याप्टेन मिलर’ले भने ९औँ दिनमा १ करोड मात्रै कमायो । यो फिल्मले हालसम्म देशभरि सबै भाषामा ४२ करोड ४७ लाख भारु कलेक्सन गरेको छ ।