काठमाडौँ । श्रमजीवी चलचित्रकर्मी सामाजिक सुरक्षा योजनाअन्तर्गत ६० वर्ष उमेर पुगेका श्रमजीवी चलचित्रकर्मीलाई राज्यबाट भत्ता सुविधा दिइने चलचित्र विकास बोर्डले जनाएको छ ।
नेपाली चलचित्र क्षेत्रको विकास, विस्तार र प्रवर्द्धनको मुख्य उद्देश्यले २०५७ साल आषाढ १६ विधिवत रूपमा स्थापना भएको चलचित्र विकास बोर्डले आफ्नो स्थापना दिवसमा राष्ट्रिय चलचित्र पुरस्कार समेत प्रदान गर्दै आएको थियो ।
कोरोना महामारीका कारण यो वर्ष राष्ट्रिय चलचित्र पुरस्कार रोकिएको छ । सहज वातावरण हुने बित्तिकै पुरस्कार वितरण गर्ने बोर्डले एक विज्ञप्तिमार्फत जानकारी दिएको छ । मौलिक चलचित्र निर्माणमा सहयोग गर्ने उद्देश्यले विकास बोर्डले स्टोरी बैंकको स्थापना, ५ मौलिक चलचित्रलाई राज्यले निर्माण सुविधा दिने, चलचित्रकर्मी विपद् व्यवस्थापन कोषको सुरुवात, प्रोजेक्ट बिमासम्बन्धी कार्यविधि निर्माण, डेढ करोडसम्मको लगानीमा बन्ने चलचित्रको प्रोजेक्ट बिमाको शुल्क बोर्डले व्यहोर्ने, निर्माण प्रदर्शन वितरण जाने चलचित्रलाई बोर्डबाट उपलब्ध गराउने सहयोगलगायतका काम गर्ने छ । बोर्डले कक्षा ११ र १२ को पाठ्यक्रममा चलचित्रसम्बन्धी व्यवस्थाका साथै काठमाडौं नजिकै काभ्रेको साँगामा अत्याधुनिक इन्डोर स्टुडियो निर्माण काम अघि बढेको समेत बोर्डको विज्ञप्तिमा उल्लेख छ ।