मोरङ, ८ माघ : कोशी प्रदेश सरकारले विराटनगर–१० स्थित शैलजा आचार्य हृदय रोग केन्द्र उपचार सेवा आजदेखि सञ्चालनमा ल्याएको छ ।
प्रस्तावित एक सय शय्या हुने सो केन्द्रका लागि हाल रु पाँच करोड ५० लाख बजेट छुट्याएको प्रदेश स्वास्थ्य मन्त्रालयकी सचिव डा सुधा देवकोटाले जानकारी दिनुभयो । केन्द्रमा रहेका पाँच चिकित्सक अन्य स्वास्थ्यकर्मीले मुटु रोगका साथै अन्य साधारण बिरामीको उपचार सेवा प्रदान गर्नेछन् । सो केन्द्रमा आगामी छ महिनाभित्र आवश्यक अन्तर्राष्ट्रिय मापदण्डका परीक्षणको सामग्री उपलब्ध हुने उहाँले बताउनुभयो ।
कोशी प्रदेशका प्रदेशप्रमुख परशुराम खापुङ, मुख्यमन्त्री केदार कार्की र नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले आज यहाँ संयुक्तरुपमा केन्द्रको उद्घाटन गर्नुभयो ।
सो अवसरमा प्रदेशप्रमुख खापुङले केन्द्रको स्थापनाबाट विराटनगर स्वास्थ्य केन्द्रका रुपमा विकसित भएको बताउनुभयो । उहाँले केन्द्रमा कोशी, मधेस प्रदेशका साथै सीमावर्ती भारतीय क्षेत्रका जनतालाई उपचारमा सहज हुनाका साथै यस क्षेत्रको आर्थिक चलायनमा सहयोग पुग्ने धारणा राख्नुभयो ।
मुख्यमन्त्री केदार कार्कीले प्रदेशका सात लाख उच्चरक्तचापबाट पीडित जनतालाई बचाउन हृदय रोग केन्द्र स्थापना गरेको बताउनुभयो । उहाँले प्रदेशमा दुई लाख मुटुको बिरामी रहेको चर्चा गर्दै उपचारमात्र होइन यो रोग कसरी लाग्छ भन्ने अनुसन्धानका लागि समेत बजेट छुट्याएको बताउनुभयो ।
मुख्यमन्त्री कार्कीले प्रदेश सरकारले मानवीय विकासका लागि चिकित्सक, इन्जिनियर, पशु र स्वास्थ्य विज्ञमा निःशुल्क अध्ययनका लागि छात्रवृत्तिको व्यवस्था गरेको जानकारी दिनुभयो । उहाँले सरकार सुशासन कायम गर्न र नागरिकको जीवनस्तर उकास्नका लागि कोही कसैसँग कुनै सम्झौता नगर्ने प्रण व्यक्त गर्नुभयो ।
कांग्रेस नेता डा कोइरालाले सेवा प्रदान गर्ने संस्थामा राजनीतिक नगर्न सबैसँग आग्रह गर्नुभयो । उहाँले मुलुकमा रहेका दक्ष जनशक्तिको विदेश पलायन रोक्न दलहरु गम्भीररुपमा लाग्नुपर्नेमा जोड दिँदै केन्द्रलाई तालिम केन्द्रका रुपमा समेत विकास गरेमा यसको उपादेयता मुलुकभर पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
सङ्घीय पूर्वमन्त्री अमनलाल मोती, प्रदेशका पूर्वमुख्यमन्त्री उद्धव थापा, पूर्वमन्त्री तिलकुमार मेयाङ्वो, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पतालका उपकुलपति डा भूपेन्द्र बस्नेत र मुटुरोग वरिष्ठ चिकित्सक डा भगवान कोइराला र नेपाल उद्योग वाणिज्य महासङ्घ प्रदेश अध्यक्ष राजेन्द्र राउतले केन्द्रको स्थापनाबाट प्रदेशका जनताले स्तरीय सेवा पाउनु धारणा राख्नुभयो ।