दोधारा चाँदनी (कञ्चनपुर), ९ माघ : कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–२ स्थित निमार्णाधीन कभर्ड हल बजेट अभावले सम्पन्न हुन सकेको छैन ।
विसं २०७४ देखि निर्माण थालिएको उक्त कभर्ड बजेट अभावका कारण काम पूरा हुन नसकेको वडा नं २ का वडाध्यक्ष पदमसिंह रावलले जानकारी दिनुभयो । “कभर्ड हल निर्माणका लागि सङ्घ र प्रदेश सरकारबाट केही बजेट आए पनि रकम अभाव हुँदा निर्माणले पूर्णता पाउन सकेको छैन”, उहाँले भन्नुभयो ।
वडाध्यक्ष रावलले कभर्ड हल निर्माणमा अझै रु ४० लाख रकम लाग्ने अनुमान गरिएको जानकारी दिनुभयो । उहाँले आफूले नगरपालिकाबाट बजेट विनियोजन गर्न माग गरेपनि ठूलो रकम भएकाले बजेट विनियोजन नभएको बताउनुभयो ।
“कभर्ड हलको छाना मात्रै छ त्यस बाहेक अन्य काम बाँकी छन्”, उहाँले भन्नुभयो, “नगरपालिकासँग प्रयाप्त बजेट नहुनु र अन्य निकायबाट बजेट नआउँदा निर्माणले पूर्णता पाउन नसकेको हो ।”
दोधारा चाँदनी नगरपालिकाका इन्जिनियर दीपेन्द्रराज भट्टले सुरुवातमा खेलकुद मन्त्रालयबाट खेलमैदान तथा कभर्ड हल निर्माणका लागि रु १० लाख बजेट आएको जानकारी दिनुभयो । “उक्त रकमबाट जग हाल्नेदेखि चार फिट पर्खाल निर्माण गर्ने काम गरियो । त्यसपछि लामो समयसम्म बजेट अभाव भएपछि काम रोकिएको छ”, उहाँले भन्नुभयो । आर्थिक वर्ष २०७७÷७८ मा रु ५० लाख बजेट विनियोजिन भएर थप काम अघि बढेपनि रकम पर्याप्त नहुँदा हलले पूर्णता पाउन नसकेको भट्टको भनाइ थियो ।
यस क्षेत्रका खेलाडीका लागि महत्वपूर्ण संरचनाका रुपमा हेरिएको कभर्ड हल नबन्दा स्थानीय खेलाडी समस्यामा परेका उनीहरुको गुनासो छ । “हल निर्माण हँुदा खेल अभ्यास गर्नका लागि सहज हुन्छ भन्ने लागेको थियो”, खेलाडी नरेश जोशीले भन्नुभयो, “काम अलपत्र हुँदा निर्माण भएको खण्ड पनि जीर्ण बन्दै गएको छ ।”
अहिले खेलाडीले अधुरै रहेको कभर्ड हलमा खेल अभ्यास गरिरहेको जोशीले बताउनुभयो । उहाँका अनुसार उक्त हलका लागि वडा कार्यालयले विद्युत् उपलब्ध गराउँदै आएको छ ।