माघ ११, २०८० बिहिबार

काठमाडौँ– आईसीसी यू–१९ एकदिवसीय विश्वकप क्रिकेटमा नेपालले लगातार दोस्रो हार बेहोरेको छ । बुधबार राति सकिएको खेलमा नेपाल पाकिस्तानसँग ५ विकेटले पराजित भएको हो ।

दक्षिण अफ्रिकाको इस्ट लण्डनमा नेपालले दिएको १९८ रनको लक्ष्य पाकिस्तानले ४७ ओभर ४ बलमा ५ विकेट गुमाएर पूरा गर्‍याे ।

पाकिस्तानका अजन आविसले सर्वाधिक ६३ रनको अर्धशतकीय इनिङ खेले । यस्तै, सम्यल हुसेन र साजिव खानले ३७–३७, अहमद हसनले २९ तथा हरोन अर्सादले १५ रन जोडे ।

नेपालका आकाश चन्दले सर्वाधिक तीन विकेट लिए । यस्तै, दिपेश कँडेल र आकाश त्रिपाठीले एक–एक विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा अल आउट हुँदै १९७ रन बनाएको थियो । नेपालका विपिन रावलले ३९, दीपक डुम्रेले २६, देव खनालले २३, सुवास भण्डारीले २० तथा आकाश चन्दले १६ रन जोडे ।

पाकिस्तानका अर्फाद मिन्हासले तीन विकेट तथा उबैद शाह र अहमेद हुसेनले दुई–दुई विकेट लिए ।