माघ ११, २०८० बिहिबार

गाजाको प्रमुख दक्षिणी सहर खान युिनसस्थित संयुक्त राष्ट्रसङ्घको प्रशिक्षण केन्द्रमा बुधबार आक्रमण गरी आगो लगाइएको छ । घटनामा परी  कम्तीमा नौ जनाको मृत्यु भएको संयुक्त राष्ट्रसङ्घका अधिकारीले बताएका छन् । 

गाजामा प्यालेस्टिनी शरणार्थीका लागि संयुक्त राष्ट्र सङ्घ राहत तथा योजना निकायका एजेन्सीका निर्देशक थोमस ह्वाइटले सामाजिक सञ्जाल एक्स (ट्रवीटर)मा जनाएअनुसार आठ सय जना मानिसहरु बसोबास गरिरहेको भवनमा गोलाबारी भएको थियो । आक्रमणमा  कम्तिमा नौ जनाको मृत्यु भएको छ भने अन्य ७५जना घाइते भएका छन् । 

युएनआरडब्लुए र विश्व स्वास्थ्य सङ्गठनका उद्धार टोलीहरू उद्धारको लागि केन्द्रमा पुग्ने प्रयास गरिरहेको उहाँले बताउनुभयो । 

खान युनूसको पश्चिमी क्षेत्रमा इजरायली बम विष्फोटले प्रशिक्षण केन्द्रमा ठूलो आगलागी निम्त्याएको प्रत्यक्षदर्शीहरूले बताएका छन् । 

आगलागीले भवनको ठूलो भागमा क्षति पुगेका कारण धेरै मृतक तथा घाइते व्यक्तिलाई  केन्द्र भित्रबाट बाहिर सार्नु परेको उहाँले बताउनुभयो ।  

इजरायली सेनाले लगाएको घेराबन्दीका कारण एम्बुलेन्स र मेडिकल टोलीहरू जलिरहेको प्रशिक्षण केन्द्रमा पुग्न नसकेको प्रत्यक्षदर्शीहरूले बताएका छन् ।  

प्यालेस्टिनी विदेश मन्त्रालयले प्रशिक्षण केन्द्रमा भएको गोलाबारीको निन्दा गरेको छ ।  युएनआरडब्लुएका संस्था, कर्मचारी, विद्यालय, आश्रय र उपकरणहरूलाई इजरायलले सुनियोजित रूपमा आक्रमण गरेको मन्त्रालयले बताएको छ । 

पछिल्लो २४  घण्टामा, इजरायली सेनाले गरेको २४ वटा आक्रमणमा २१० प्यालेस्टिनीको मृत्यु भएको छ । आक्रमणमा अन्य ३८६ जना घाइते भएका छन् । 

सन् २०२३ अक्टोबर ७ देखि सुरु भएको आक्रमणजन्य घटनाका कारण २५ हजार ७०० प्यालेस्टिनीको मृत्यु  भइसकेको छ ।  आक्रामणमा घाइतेहरूको कूल सङ्ख्या ६३ हजार ७४० पुगेको छ ।