डा. केदार कार्की
विश्वको इतिहासलाई नियाल्दा सन् १९१८ देखि हालसम्म चारपटक विभिन्न प्रकृतिका फ्लुको महामारी भएको तथ्याङ्क भेटिन्छ ।
सन् १९१८–१९१९ (स्प्यानिस फ्लु एच१एन१)
१९१८ को फ्लुको महामारी, जसलाई स्प्यानिस फ्लु भनियो- जनसमुदाय अचानक बिरामी भए । त्यसबेला बिहान सकुशल व्यक्ति साँझ मृत्यु भएकाे अभिलेख भेटिन्छ । तर स्प्यानिस फ्लुबाट ग्रसित जनसमुदायमा भएको मृत्युको कारण स्प्यानिस फ्लुले नभइ जीवाणुजन्य सङ्क्रमणको जटिलताका कारण निम्तिएको निमानियाले भएको थियो । त्यसबेला विश्वभरी करिब २०–४० प्रतिशत जनसमुदाय बिरामी भएका र ५ करोड मानिसको मृत्यु भएको तथ्याङ्क छ । त्यसमा पनि करिब ६ लाख ७५ हजार मानिसको मृत्यु अमेरिकामा भएको देखिन्छ । जसमा २०–५० वर्ष उमेर समूहका बढीको मृत्यु भयो ।
सन् १९५७–१९५८ (एशियन फ्लु एच२एन२)
फेब्रुअरी १९५७ मा एउटा नयाँ फ्लु भाइरस सुदूरपूर्वमा पहिचान गरियो । ६५ वर्षभन्दा कम उमेर समूहका जनसमुदायमा यस प्रजातिप्रति प्रतिरक्षात्मक क्षमता न्यून रहेको थियोे, महामारी हुनसक्ने अनुमान गरियो । १९५७ मा उक्त भाइरस गर्मीको मौसम पारी फाटफुट रोग देखाउँदै अमेरिका पुगेको अभिलेख छ । जब वर्षे बिदापछि विद्यार्थी स्कुल पुगे तिनले कक्षामा रोग सार्नका साथै घरपरिवार तथा छरछिमेकमा पनि रोग सार्नेबाहेकको काम गरेको देखिन्छ । सङ्क्रमण दर स्कुले विद्यार्थी, अधबैंसे उमेरका तथा गर्भवतीहरूमा अक्टुबर १९५७ मा बढी देखा पर्यो । डिसेम्बर १९५७ मा महामारी नियन्त्रण हुन पुग्यो भने दोश्रो महामारी पुनः १९५८ को जनवरी- फेब्रुअरीमा देखा पर्यो । तथापी १९५७ को महामारी १९१८ को फ्लुको महामारीजस्तो भयावह थिएन । सेप्टेम्बर १९५७ र मार्च १९५८ मा इन्फ्लुएन्जा तथा निमोनियाजन्य रोगका कारण अमेरिकामा करिब ६९,८०० जनसमुदायको मृत्यु भएको देखिन्छ । मृत्यु हुनेमा जेष्ठ नागरिक समुदाय थिए । त्यसबेला एसलाई 'एशियन फ्लु' भनियो ।
सन् १९६८–१९६९ (हङकङ फ्लु एच३एन३)
सन् १९६८ को सुरुमा हङकङमा नयाँ फ्लु भाइरस पहिचान गरियो । सेप्टेम्बर १९६८ को सुरुमा अमेरिकामा पहिलो बिरामी फेला परेको देखिन्छ । डिसेम्बर १९६८ सम्ममा अमेरिकामा व्यापक रूपमा रोग देखिएको थिएन । फ्लु भाइरसका कारण डिसेम्बर १९६८ र १९६९ को जनवरीमा ६५ वर्ष उमेरका मानिसको मृत्यु भएको देखिन्छ । यसपटकको महामारीबाट ३३,८०० जनाको मृत्यु भएको देखिन्छ । अमेरिकामा फ्लु भाइरसको पटकपटकको महामारीबाट मृत्यु दर कम हुँदै जानुका विभिन्न कारणहरू जनश्वास्थ्यकर्मीहरूले इङ्गित गरेका छन् ।
हङकङ फ्लु भाइरसको प्रकोप डिसेम्बर १९६८ मा देखिँदा अधिकांस विद्यालयहरू जाडो बिदाका लागि बन्द हुँदा विद्यार्थी स्कुल नपुगेकाले कक्षामा रोग सार्नका साथै घरपरिवार तथा छरछिमेकमा पनि रोग सार्ने बाहकको काम नगरेको देखिन्छ । यस्तै आधुनिक उपचार सेवाको विकास, रोगको सघन निगरानी, द्रुत प्रयोगशालाकृत रोग निदान प्रविधि, जनश्वास्थ्य सचेतना सूचना प्रवाह, अनि जीवाणुजन्य सङ्क्रमणविरुद्ध एन्टिबायोटिकको सहज उपलब्धता पनि रोग नियन्त्रणको प्रमुख कारक मानिन्छ ।
सन् २००९–२०१० (स्वाइन फ्लु एच१एन१)
सन् २००९ को वर्षायाममा अमेरिका तथा विश्वमा नयाँ फ्लु भाइरस फेला परेको देखिन्छ । यसलाइ सुरुमा स्वाइन फ्लु भनियो । अप्रिल २६, २००९ मा अमेरिकामा सरकारले एच१एन१ (स्वाइन फ्लु ) लाई जनश्वास्थ्यजन्य सङ्कटकाल घोषणा गर्नुुपर्यो । सोही वर्ष अमेरिकामा जुन महिना सम्ममा १८,००० बिरामी देखा परे । यस महामारीका कारण करिब विश्वका ७४ मुलुक प्रभावित भएका थिए । नोभेम्वर २००९ सम्ममा अमेरिकाका ४८ प्रान्तमा साना केटाकेटीहरूमा रोग देखियो । सो अवधिमा करिब ८ करोड जनसमुदायमा खोप लगाएका कारण रोग नियन्त्रण भएको अनुमान छ । अगस्ट १०, २०१० मा विश्व स्वास्थ्य संगठनले जनसमुदायमा एच१एन१ (स्वाइन फ्लु ) को विश्व माहामारी नियन्त्रण भएको घोषणा गर्यो ।
सन् १९९७ देखि हालसम्मः (बर्ड फ्लु)
सन् १९९७ सम्म कुखुरामा लाग्ने एभियन इन्फ्लुएन्जा भाइरसले मानिसमा कुनै असर देखाएको थिएन तर १९९७ मा हङकङमा १८ जना मानिस यस रोगबाट प्रभावित भएका थिए भने ६ जना मानिसको ज्यान गएको थियो । सन् २००३ देखि कोरिया हुँदै दक्षिण-पूर्वी एशियामा यो रोग फैलिन थालेपछि यसका आर्थिक तथा मनोसामाजिक असरहरू बढी देखिन थाल्नुका साथै विश्वव्यापी महत्व पनि बढ्दै गयो । क्रमश: यो रोग त्यसपछि मंगोलिया, रुस, मध्य पूर्व, यूरोप, अफ्रिका र दक्षिण एशियासम्म फैलन पुग्यो । रोग लागेका मध्ये ६० प्रतिशतभन्दा केही बढीको मृत्यु भएको देखिन्छ । अहिलेसम्म यो रोग पक्षीबाट मानिसमा सरे पनि मानिसबाट मानिसमा सरेको यकीन प्रमाण छैन । यस रोगबाट १५ देशमा मानिस बिरामी परेका छन् भने १२ देशमा मरेका छन् । सबैभन्दा बढी इण्डोनेशियामा १५७, त्यसपछि भियतनाममा ६१ जना र इजिप्टमा ६० जना मरेका छन् । छिमेकी देश चीनमा २८ जना र दक्षिण एशियाली देश पाकिस्तानमा १ जनाको मृत्यु भएको तथ्याङ्क छ । त्यसबाहेक थाइल्याण्ड, अजरबैजान, कम्बोडिया, इराक, लाओस, नाइजेरिया र टर्कीमा मानिसहरशु बर्ड फ्लुका कारण मरेको पाइन्छ । नेपालमा सर्वप्रथम यो रोग सन् २००९ को जनवरी महिनामा देखा परेको थियो । सन् १९९७ मा हङकङमा फेला परेको बर्ड फ्लु सन् २०१३ मा सोहौं वर्ष मनाउँदै छ । प्रत्येक वर्ष यस्को सङ्क्रमण नियन्त्रण गर्न गाहो हुँदै गइरहेको स्थिति छ । सन् १९९७ ताका बर्ड फ्लु को चर्चापछि मात्र विश्व समुदायको ध्यानमा यस रोगको कारक तत्व एच५एन१ भएको देखिन्छ । विगतमा इन्फ्लुएन्जा 'ए' यसका उप-प्रजाति 'एच' र 'एन' का फरकफरक रूपका कारण यसको केन्द्रबिन्दु अनि प्रभावित समुदायको पृष्टभूमि हेर्दा विगतमा यस विषाणुको प्रकोप झण्डै विश्व महामारीको रूप लिएको स्थितिमा बिसौं शताब्दीमा ३ वटा विश्व महामारीको त्रासदी बेहोरेको विश्व समुदाय उपलब्ध प्रविधि, सूचना सञ्जालको प्रयोगबाट अर्को त्रासदी भोग्न नपरोस् भन्ने कामना गर्दछ ।
रोगबाट सङ्क्रमित मानिसलाई उपचार गरी निको पार्न अहिलेसम्म प्रभावकारी मानिएका औषधि कुनै भूगोलमा प्रभावकारी भए अर्को भूगोलमा प्रभावकारी हुन सक्ने सम्भावना न्यून पाइएको छ । आज जनस्वास्थकर्मीहरूको टाउको दुखेको यति मात्रले हो । हाम्रा आफ्नो छिमेकमा बिगत केही वर्षदेखि साइत जुरायेर देखा पर्दै आएको भायरसको सङ्क्रमण अकस्मात् श्रावणको पहिलो सातामा भक्तपुर जिल्लामा निम्तो बाँड्न आइपुग्दा, हामीमा केही सन्त्रास त भयो । यस प्रसङ्गमा हालसम्म गरिएका प्रयासका केही सकारात्मक सङ्केत त देखिन्छन् तर गरिहाल्नुपर्ने काम त अझै बाँकी नै छन् ।
पक्षी तथा पक्षीजन्य सामाग्रीहरूका सम्पर्कमा निरन्तर रहनुपर्ने मानिस यस रोगबाट बढी सङ्क्रमित हुने जोखिम छ । यसकारण कुखुरापालक किसानले बढी जैविक सुरक्षाका उपाय अपनाउनु उचित छ । यसबारे बेलामा सूचना प्रवाह, पक्षीको शंकास्पद मृत्यु भएमा द्रुत निदान, कुनै ठाउँमा यस रोगको सङ्क्रमणको पुष्टि भएकै बेला रोग नियन्त्रणको द्रुत उपाय अवलम्बन गर्न सकिने अनि त्यस बेला सञ्चार जगत, नागरिक समाज, उपभोक्ता, नागरिक प्रशासन, राजनैतिक दलले निर्बाह गर्नुपर्ने भुमिकाबारे सर्तकतासाथ सूचना प्रवाह गरे बर्डफ्लुको सन्त्रासबाट बचिन्छ । हालसम्म ६० मुलुकमा फैलिएको यस रोगका कारण ३७७ जना मानिसले मृत्युवरण गरेका छन् । इ.स. २०१३ मा चीनमा यस भाइरसले आफ्नो आनुबांशिक संरचना परिवर्तन गरेका कारण हालसम्म ४५ जनाले मृत्युवरण गरेका छन् । यदि विषाणुले स्वरूप परिवर्तन गरी मानिसबाट मानिसमा सर्नसक्यो र यही उच्च प्रतिशतमा मृत्युदर कायम रह्यो भने कति मानिसको मृत्यु होला भन्ने चिन्ताले नै यस रोगलाई अति महत्वपूर्ण मानिएको हो । जनस्वास्थ्यकर्मीहरूको चिन्ता कतै अर्को विश्व महामारी त नजिकिँदै छैन भत्रे मात्र हो !
डा.केदार कार्की