माघ १५, २०८० सोमबार

काठमाडौंँ । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानले ‘सामाजिक रूपान्तरण : ललितकलाको अभियान’ भन्ने मूल भावमा ‘प्रादेशिक ललितकला प्रदर्शनी–२०८०’ र ‘राष्ट्रिय ललितकला प्रदर्शनी–२०८१’ गर्ने भएको छ । प्रतिष्ठानले पहिलो पटक प्रादेशिक प्रदर्शनीलाई समेत समेट्दै शुक्रबार सोको विस्तृत विवरणसहितको सार्वजनिक सूचना जारी गर्दै देशभरका कलाकारलाई प्रदर्शनीमा सहभागिताका लागि आह्वान गरेको हो । 

‘नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान ऐन–२०६४’ को दफा ५ को खण्ड (ट) समेतको प्रयोजनका लागि ‘राष्ट्रिय ललितकला प्रदर्शनी कार्यविधि– २०८०’ र ‘प्रादेशिक ललितकला प्रदर्शनी कार्यविधि– २०८०’ बमोजिम सातै प्रदेशमा आयोजना हुने प्रादेशिक ललितकला प्रदर्शनीमा प्रतियोगी/अप्रतियोगी कलाकृति र २०८१ जेठ १५ गते काठमाडौँमा हुने ‘राष्ट्रिय ललितकला प्रदर्शनी–२०८१’ मा अप्रतियोगी र आमन्त्रित कलाकृति प्रदेशका हकमा सम्बन्धित प्रदेशको (कोसीको इटहरी मेट्रिक्स (इटहरी), मधेसको मधेस प्रज्ञा–प्रतिष्ठान (जनकपुरधाम), बागमतीको नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान (नक्साल), गण्डकीको गण्डकी प्रज्ञा–प्रतिष्ठान (पोखरा), लुम्बिनीको नेपाल व्यावसायिक कलाकार सङ्घ (बुटवल), सुदूरपश्चिमको सुदूरपश्चिम प्रज्ञा–प्रतिष्ठान (धनगढी) र कर्णालीको नेपाल व्यावसायिक कलाकार सङ्घ (सुर्खेत) र राष्ट्रिय प्रदर्शनीका हकमा यस नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान, नक्साल, काठमाडौँमा बुझाउनुपर्ने छ ।  

कुलपति नारदमणि हार्तम्छालीले यस पटकदेखि राष्ट्रिय ललितकला प्रदर्शनीका लागि प्रदेशबाटै प्रतिस्पर्धा गरी कलाका पूरक गतिविधिहरूका साथै बहुुआयामिक पाटा र बाटाहरूलाई समेट्नु नै यसको प्रमुख उद्देश्य रहेको बताए । ‘प्रदर्शनीलाई विगतमा सिधै राष्ट्रिय (केन्द्र) भनेर काठमाडौँमा सिधै केन्द्रित गरिएको थियो त्यसो गर्दा भौगोलिक र आर्थिकरूपले सर्जकहरूको सहभागिता सहजता खास थिएन ।

यसपटक  सम्मान र मूूल्याङ्कनमा पनि विशेष सुुविधा, विविध विधा/उपविधा, तहतप्काका र क्षेत्रमा पुुरस्कार सङ्ख्या तथा रकम पनि विशेष थप गरिएको छ । त्यसमा छायाँमा परेका प्रतिभाहरूको समावेशिता सहभागिता हुुने सिर्जनात्मक कला क्रियाकलापहरू पनि गरिने छ’ उनले भने ।

प्रदर्शनीमा चित्रकला (समसामयिक, परम्परागत, मुद्रणकला छायाचित्र (प्रिन्टमेकिङ्ग) कला), मूर्तिकला, वास्तुकला तथा अन्य सिर्जनात्मक (बहुआयामिक) कला (वास्तुकला (शास्त्रीय), सिर्जनात्मक छविकला, भिडियो आर्ट, प्रतिस्थापन कला, भावभङ्गीमा कला, मौलिक दृष्टान्त चित्रकला, कार्टुन, क्यारिकेचर, पोस्टर र डिजिटल कला), लोककला, हस्तकला विधाअन्तर्गत तोकिएको नियममा रही कलाकारले सहभागिता जनाउन पाउनेछन् । 

प्रादेशिक प्रदर्शनीमा समावेश भई छानिएका प्रतियोगी कलाकृतिमात्र राष्ट्रिय ललितकला प्रदर्शनीमा प्रतियोगी कलाकृतिका रूपमा समावेश हुने प्रावधान रहेकाले आ–आफ्ना प्रदेशमा हुने प्रादेशिक प्रदर्शनीमा कलाकृति तोकिएको समयभित्रै बुझाउनसमेत प्रतिष्ठानले सूचित गरेको छ ।

प्रादेशिक ललितकला प्रदर्शनीमा समावेश भई सो प्रदर्शनीबाट राष्ट्रिय ललितकला प्रदर्शनीमा समावेश गर्न सिफारिस भई राष्ट्रिय ललितकला प्रदर्शनीमा समावेश भएका कलाकृतिमध्ये उत्कृष्ट कलाकृतिलाई सर्वोत्कृष्ट राष्ट्रिय ललितकला पुरस्कार, ललितकला विधागत पुरस्कार उत्कृष्ट ललितकला राष्ट्रिय पुरस्कार प्रदान गरिने छ ।

सर्वोत्कृष्ट राष्ट्रिय ललितकला पुरस्कार (१ लाख राशिको) सबै विधाहरू मध्येबाट सर्वोत्कृष्ट एक जनालाई प्रदान गरिने छ । विधागत (परम्परागत चित्रकला, समसामयिक/आधुनिक चित्रकला, परम्परागत÷लोक मूर्तिकला, समसामयिक/आधुनिक मूर्तिकला, हस्तकला–शिल्पकला, लोककला, वास्तु तथा अन्य सिर्जनात्मक (बहुआयामिक कला) र विद्यार्थी ललितकला राष्ट्रिय पुरस्कारका रूपमा क्रमशः एक–एक जनालाई प्रदान गरिने छ । यी सम्पूर्ण पुरस्कारको राशि ६० हजार रुपैयाँ र सम्मानपत्र रहेको छ ।

माथि उल्लिखित राष्ट्रिय पुरस्कारका लागि कलाकृतिको मूल्याङ्कन गरी सिफारिस गरिसकेपछि छनोट÷मूल्याङ्कन समितिले राष्ट्रिय ललितकला प्रदर्शनीमा समावेश भई केन्द्रीय स्तरको पुरस्कार नपाएका प्रतियोगी कलाकृतिहरू मध्येबाट प्रदेशगत रूपमा मूल्याङ्कन गरी प्रदर्शनीमा सहभागी सबै विधाहरू मध्येबाट उत्कृष्ट एक जनालाई रु ५० हजार राशिसहित सम्मान गरिनेछ ।

त्यस्तै, विधागत प्रादेशिक पुरस्कार (परम्परागत चित्रकला, समसामयिक/आधुनिक चित्रकला, परम्परागत/लोक मूर्तिकला, समसामयिक/आधुनिक मूर्तिकला, हस्तकला–शिल्पकला, लोककला, वास्तु तथा अन्य सिर्जनात्मक (बहुआयामिक कला) र विद्यार्थी ललितकला प्रादेशिक पुरस्कारका रूपमा क्रमशः एक–एक जनालाई प्रदान गरिने छ । यी सम्पूर्ण पुरस्कारको राशि ३०–३० हजार रुपैयाँ र सम्मानपत्र रहेको छ ।