कोेभिड–१९ विरुद्धको दुवै डोज खोप लगाउँदा यो संक्रमण भएका मानिसलाई मृत्युबाट ९८ प्रतिशतसम्म बचाउन सक्ने एक अध्ययनले देखाएको छ । भारत सरकारका अधिकारीले गरेको सो अध्ययनले उक्त तथ्य देखाएको बताइएको छ ।
भारत सरकारले गरेको एक अध्ययनले कोरोनाभाइरसविरुद्धको एउटा मात्र खोपले पनि कम्तीमा ९२ प्रतिशतजति सुरक्षा प्रदान गर्ने देखिएको छ । सो अध्ययनले एक डोज मात्र खोप लगाएका व्यक्तिलाई पनि कोरोनाभाइरस संक्रमण भएको छ भने उनीहरुलाई ९२ प्रतिशतसम्म मृत्युबाट बचाउने देखिएको हो ।
भारतीय सरकारको निकट रहेको एक ‘थिंक ट्यांक’ संस्था एनआईटीआईले गरेको सो अध्ययनबाट उक्त तथ्य बताइएको छ । सो इन्स्टिच्युटका निर्देशक भीके पाउलले आज नयाँ दिल्लीमा आयोजना भएको पत्रकार सम्मेलनमा यस्तो जानकरी दिएका हुन् । उनका अनुसार कोरोनाविरुद्धको खोपले कोरोना लाग्न नदिनभन्दा पनि कोरोना लागिसकेपछि मृत्युबाट बचाउन निकै प्रभावकारी रुपमा काम गर्ने देखिएको छ ।
उनले सो अध्ययन पञ्जाबका प्रहरीमा गरिएको जानकारी दिएका थिए । पञ्जाबमा कोभिडविरुद्धको खोप लगाएका र नलगाएका प्रहरीहरुमा सो अनुसन्धान गरिएको थियो ।
यस्तै, त्यहाँका प्रहरी जसले एक डोज मात्र खोप लगाएका र दुवै डोज खोप लगाएकाहरुमा पनि अनुसन्धान गरिएको थियो । तीमध्ये खोप नलगाएको तुलनामा लगाएका प्रहरीको मृत्युदर निकै कम थियो । त्यसैगरी, दुवै डोज खोप लगाएकामा मृत्युबाट जोगाउन सक्ने ९८ प्रतिशत सुरक्षा रहेको पाइएको थियो ।
रासस-सिन्ह्वा