माघ २८, २०८० आइतबार

म्याग्दी, २८ माघ  : गण्डकी प्रदेश सरकारले यहाँका १८ पर्यटकीयस्थलमा पूर्वाधार निर्माणको काम थालेको छ । 

    प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले पर्यटन तथा उद्योग कार्यालयमार्फत पर्यटन पूर्वाधार निर्माणका लागि चालु आर्थिक वर्ष २०८०/८१ मा रु एक करोड ५६ लाख बजेट विनियोजन गरेको छ । कार्यालयका प्रमुख पोषानाथ शर्माले पर्यटकीय स्थलमा पदमार्ग, रेलिङ, आश्रयस्थल लगायतका पूर्वाधार निर्माणका लागि छनोट भएका योजना कार्यान्वयनलाई तिव्रता दिएको जानकारी दिनुभयो ।  

    “पाँच पदमार्ग निर्माण गर्ने योजना सम्पन्न भइसकेको छ”, उहाँले भन्नुभयो “आठ योजना निर्माणाधिन छन्, पाँच योजनाको उपभोक्ता समितिलाई सम्झौताका लागि बोलाएका छौँ ।” कार्यालयका अनुसार रु १०÷१० लाख बजेट विनियोजन भएको धवलागिरी गाउँपालिका–७ को ताकमकोट पदमार्ग, बेनी नगरपालिका–९ को गलेश्वर–काउलेगौडा–नेप्टेचौर–ढोलथान–दरबार र रु पाँच लाख बजेट विनियोजन भएको मालिका–६ को बलौटे दुखुबेसी पदमार्ग योजनाको निर्माण सकिएको हो । 

    यसैगरी रु आठ÷आठ लाख बजेट विनियोजन भएको बेनी नगरपालिकाको डल्ले पिपलदेखि फोहोटे–रिठाबोट र रघुगङ्गा गाउँपालिका–२ को अन्नपूर्ण आधारभूत विद्यालयदेखि हवल्दारको चौतारीसम्म पदमार्ग निर्माणको योजना सकिएको कार्यालयका इञ्जिनियर सुमन बोगटीले बताउनुभयो । 

    रु २० लाख बजेट विनियोजन भएको अन्नपूर्ण–५ को खोपारालेक पर्यटन पूर्वाधार, रु १०/१० लाख बजेट विनियोजित मालिका गाउँपालिका–५ को पन्थोकदेखि मालिका जोड्ने पदमार्ग, मङ्गला गाउँपालिका–३ को चिनाकोट पर्यटकीय पूर्वाधार, रघुगङ्गा–४ को दर्मिजादेखि नागिदेवी जोड्ने पदमार्ग, बेनी–५ को ढोल्थान र अन्नपूर्ण–८ को करवाकेली मन्दिर जाने पदमार्ग निर्माण योजना निर्माणाधिन अवस्थामा छन् । 

    रु पाच/पाँच लाख बजेट विनियोजन भएको बेनी–१ को परम वैदिक धार्मिक सनातन आश्रम र धवलागिरी गाउँपालिका–५ र ६ को भाल श्री छापाछाङ औसी खालीखोला पदमार्गको उपभोक्ता समितिसँग सम्झौता भएको छ । रु १०/१० लाख बजेट रहेको बेनी–२ को ज्यामरुककोट मन्दिर संरक्षण, मालिका–३ को लामखोरीया डाडागाउँ पदमार्ग योजनाको उपभोक्ता समितिसँग सम्झौताको तयारी गरिएको छ । 

    रु पाँच/पाँच लाख बजेट विनियोजन भएको रघुगङ्गा–७ को कालिबराह मन्दिर तथा कुण्ड संरक्षण, मङ्गला–५ को शिलखुङ–चाङ र बेनी–१ को सारेमारे–भुवाने पदमार्ग योजनाको पनि सम्झौता हुन बाँकी छ ।