माघ २८, २०८० आइतबार

गण्डकी, २८ माघ: पोखरेली स्रष्टा दीपक समीप लघुकथा सङ्ग्रह ‘नदीको राजमार्ग’हुँदै आख्यानमा अवतरण गर्नुभएको छ । पचासको दशकदेखि साहित्य लेखनमा सक्रिय उहाँले झण्डै तीस वर्षपछि आफ्ना लघुकथालाई पुस्तकाकार दिनुभएको हो । 

    उहाँका विसं २०६२ मा ‘भूगोलभित्र नकोरिएको देश’ गजलसङ्ग्रह र विसं २०७८ मा मुक्तकथा सङ्ग्रह ‘अक्षर अक्षरमा देश’ प्रकाशित छन् । विसं २०५४ र २०५५ मा राष्ट्रव्यापी प्रतियोगितामा उत्कृष्ट लघुकथाकारका रुपमा समीप पुरस्कृत हुनुभएको थियो ।

पोखरामा भएको गृह लोकापर्णमा कृतिमाथि टिप्पणी गर्दै साहित्यकार सरस्वती प्रतिक्षाले केही अपुगता र सीमाका बावजुत लघुकथामा समीपले आफ्नो लेखन धर्मितालाई सशक्त ढङ्गले निर्वाह गरेको बताउनुभयो । “समीपका लघुकथाले पाठकको हृदयमा एक खाले कम्पन र झन्झनाहट सिर्जना गर्छन्”, उहाँले भन्नुभयो, “लघुकथा वृत्तमा एउटा मानक कृतिका रुपमा ‘नदीको राजमार्ग’ आएको छ ।”

विज्ञानमा सुक्ष्म चिज नै सबैभन्दा शक्तिशाली हुने भन्दै साहित्यमा पनि लघुकथा त्यस्तै विधा भएको प्रतिक्षाले बताउनुभयो । “छोटो आख्यानमा समेटिने लघुकथामा सुक्ष्मताको धर्म महत्वपूर्ण हुन्छ, जसलाई लेखक समीपले कुशलता र सचेततापूर्वक निभाएको देखिन्छ”, उहाँले भन्नुभयो, “समाजका घटना र चरित्र लघुकथामा सजीव ढङ्गले उद्घाटित छन् ।” अभिव्यक्तिमा विविधता देखिने समीपका लघुकथामा सामाजिक यथार्थ झल्किएको प्रतिक्षाको भनाइ छ । 

विषयवस्तु र कथा तत्वले समीपका लघुकथालाई सम्प्रेष्य बनाएको प्रतिक्षाले बताउनुभयो । लघुकथा लेखनमा कलात्मकता र नवीनताको खोजीमा भने समीप केही हदसम्म चुकेको उहाँले बताउनुभयो । यद्यपि उहाँले समयका पदचालाई हेरेर साहित्य सिर्जना गरेको प्रतिक्षाको भनाइ छ । 
र्
 टिप्पणीकार डा ईश्वरमणि अधिकारीले समीपले कमभन्दा कम शब्द र पात्र खर्चेर गहकिला र बोधगम्य लघुकथा लेखेको बताउनुभयो । “सामाजिक विषय र मुद्दामा लेखक समीप बढी केन्द्रित हुनुभएको छ, सौन्दर्य र सीमाको कसीमा यसलाई लघुकथाको एक मानक कृतिका रुपमा लिन सकिन्छ”, उहाँले भन्नुभयो, “जीवन भोगाइ, हाँस्य रस, यौन मनोविज्ञान, सामाजिक मनोदशा, विकृत राजनीतिमाथि व्यङ्ग्य जस्ता विषयले लघुकथालाई रोचक÷घोचक बनाएका छन् ।” 

पूर्वीयदेखि पश्चिमा साहित्यमा पनि लघुकथाको विशेष स्थान रहेको डा. अधिकारीले बताउनुभयो । लघुकथा प्रतिष्ठान नेपालका अध्यक्ष लक्ष्मण थापाले पोखरेली स्रष्टाद्वारा प्रकाशित थोरै लघुकथा कृतिमध्ये समीपको ‘नदीको राजमार्ग’ उत्कृष्ट कृतिका रुपमा दरिएको धारणा राख्नुभयो । “यो विधामा लेख्न चाहने नयाँ पुस्ताका स्रष्टालाई पनि समीपका लघुकथा प्ररणादायी र अनुकरणीय बन्न सक्छन्”, उहाँले भन्नुभयो ।

साहित्यकार सरुभक्तले पुस्तक थोरै या धेरै प्रकाशन गर्नुले अर्थ नराख्ने भन्दै समीपले थोरै तर स्तरीय सिर्जना नेपाली वाङ्मयलाई दिएको धारणा राख्नुभयो । “कसले कति पुस्तक लेख्यो भन्ने कुरा महत्वपूर्ण होइन, कस्तो लेख्यो, के लेख्यो त्यो प्रधान कुरा हो”, उहाँले भन्नुभयो, “समीपको साहित्य लेखन त्यसप्रतिको समर्पण र निष्ठा ‘नदीको राजमार्ग’बाट थप सशक्त र ओझिलो बनेको छ ।” सरुभक्तले समीपको साहित्यप्रतिको लगाव र सेवाभावबाट आफू प्रभावित भएको बताउनुभयो । 

सरुभक्तले पोखराबाट लघुकथामा कलम चलाउने स्रष्टा न्यून रहेको सन्दर्भमा समीपको कृति आउनु सुखद् रहेको धारणा राख्नुभयो । उहाँले नेपाली लघुकथाको परम्परा अलिखित इतिहासबाट आएको बताउनुभयो । साहित्यकार तीर्थ श्रेष्ठले छोटो लेख्न ठूलो सामाथ्र्य चाहिने भन्दै लघुकथामा समीपले आफूलाई प्रमाणित गरेको बताउनुभयो । गीत, गजल र मुक्तक विधामा झैँ लघुकथामा पनि समीप सफल देखिएको उहाँको भनाइ छ ।

समीपले जीवन भोगाइका सूक्ष्म घटना र तिनका तीव्र अनुभूति लघुकथामा मुखरित गरेको सुनाउनुभयो । “मेरो विचारमा लघुकथा एक जटिल लेखन हो भन्ने लाग्छ, लामो समय लगाएर कृति ल्याउन सफल भएको छु, यसमा भएका कमीकमजोरीलाई सच्याउन म तत्पर छु”, उहाँले भन्नुभयो । सङ्ग्रहमा ६६ वटा लघुकथा छन् ।
---