फागुन १, २०८० मंगलबार

जेरुसेलम, १ फागुन:  युरोपेली संघका विदेश नीति प्रमुख जोसेप बोरेलले इजरायलका सहयोगीहरू, विशेष गरी संयुक्त राज्य अमेरिकालाई गाजामा "थुप्रै मानिसहरू" मारिएकाले हतियार आपूर्ति बन्द गर्न आह्वान गर्नु भएको छ ।

 अल जजीराले उल्लेख गरे अनुसार इजरायलको सैन्य कारबाही बारे अमेरिकी राष्ट्रपति जो बाइडेनको गत हप्ताको भनाइलाई उद्धृत गर्दै बोरेलले सोमबार भन्नुभयो- "ठीक छ, यदि तपाईं धेरै मानिसहरू मारिएको विश्वास गर्नुहुन्छ भने, हुनसक्छ तपाईंले यसलाई रोक्नको लागि कम हतियार उपलब्ध गराउन सक्नुहुन्छ। किनकि यहाँ धेरै मानिस मारिए।"

"के [यो] तार्किक छैन?" उहाँले प्यालेस्टाइन शरणार्थीका लागि संयुक्त राष्ट्रसंघको राहत र कार्य निकाय का प्रमुख फिलिप लाजारिनीसँग ब्रसेल्सको पत्रकार सम्मेलनमा प्रश्न गर्दे टिप्पणी गर्नु भएको छ । 

अल जजीराका अनुसार  बोरेलले  भन्नुभयो- "यदि अन्तरराष्ट्रिय समुदायले यो हत्या हो भन्ने विश्वास गर्छ भने, हामीले हतियारको प्रावधानको बारेमा सोच्नुपर्छ।"

 यसै बीच इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूका निर्देशनहरूको इयु कूटनीतिज्ञहरूले आलोचना गरिरहेका छन् । गाजा शहर रफाहमा शरण खोज्ने १० लाख प्यालेस्टाइनीहरूलाई त्यहाँ योजनाबद्ध इजरायली सैन्य कारबाही अघि  बढाइएको छ । इयु  विदेश नीति प्रमुखले दक्षिणी गाजा शहर रफाहमा भएको आक्रमणप्रति गहिरो चिन्ता व्यक्त गर्नु भएको छ। फेब्रुअरी ११ को त्यहाँको आक्रमणले "एक अकल्पनीय मानवीय प्रकोप निम्त्याउने" र छिमेकी इजिप्टसँग गम्भीर तनाव निम्त्याउने  उहाँको धारणा छ ।

 यसै बीच ग्रीसका पूर्व अर्थमन्त्री यानिस भारोफाकिसले गाजामा भइरहेको अत्याचारको जिम्मेवारी युरोपेली देशहरू रहेको बताउनु भएको छ ।

"हामी युरोपेलीहरूले समस्या  सृजना गरेका  छौं ... हामी यसको स्थायित्वका नाममा खराब भूमिका खेलिरहेका छौं," भारोफिकोसले अल जेजलाई भन्नुभयो ।

बोरेललाई पूर्व अर्थमन्त्रीले यस घटनामा इजरायललाई पर्याप्त दबाब नदिएको र  इयुले इजरायललाई सामूहिक रूपमा सशस्त्र सहयोग गरिरहेको आरोप लगाउनु भएको छ । 

"जर्मनी,  फ्रान्स र इटालीले मानिसहरूलाई मार्न रफाहमा प्रयोग भइरहेका हतियारहरू पठाइरहेका छन्," भारोफाकिसले  थप टिप्पणी गर्नु भएको छ । 

यसबाहेक, संयुक्त राष्ट्रसंघका मानवअधिकार प्रमुख भोल्कर टर्कले पनि रफाहमा इजरायली भूमि हमलाको लागि दुःख व्यक्त गर्नु भएको छ । यदि नियोजित घुसपैठ रोकिएन भने भविष्यमा के हुन्छ भन्ने पूर्ण कल्पना गर्न सकिने टर्कले उल्लेख गर्नु भयो ।

उहाँले भननुभयो- "रफाहमा सम्भावित पूर्ण सैन्य घुसपैठ, जहाँ करिब १५ लाख प्यालेस्टिनीहरू इजिप्टको सिमानामा भाग्नको लागि  तयार रहेको डरलाग्दो  अवस्था छ ।  यस सम्भावनालाई ध्यानमा राख्दै, धेरै ठूलो सङ्ख्यामा नागरिकहरू त्यसमा पनि प्रायः बालबालिका र महिलाहरू, सम्भवतः मारिने र घाइते हुने तीव्र सम्भावना छ ।" 

गाजा पट्टीको ठूलो भागलाई ध्वस्त पारेको इजरायली हवाई आक्रमणबाट बच्न गाजाका अधिकांश जनसङ्ख्याले रफाहमा शरण लिएका छन्।

गाजाको शासक निकाय हमासले इजरायललाई चेतावनी दिएको छ- रफाहमा कुनै पनि भूमिगत आक्रमणले युद्धविराम र कैदीहरूको आदानप्रदानका लागि चलिरहेको वार्तामा बाधा पुर्याआउन सक्छ ।

प्यालेस्टिनी अधिकारीहरूले बताए अनुसार अक्टोबरदेखि इजरायली आक्रमणमा  २८ हजार ३४० भन्दा बढी मानिसहरूले ज्यान गुमाएका छन् । ज्यान गुमाउनेहरूमा पनि खासगरी महिला र बालबालिकाहरू बढी छन् 

सहायता एजेन्सीहरूको भनाइ अनुसार गाजाको ८० प्रतिशत भन्दा बढी जनसङ्ख्या विस्थापित भएको छ । 

इजरायलले गत अक्टोबर ७ मा दक्षिणी इजरायलमा हमासले गरेको आक्रमणको प्रतिक्रियामा कठोर सैन्य अभियान शुरु गरेको छ  जसले भयानक द्वन्द्व र मानवीय क्षति निम्त्याएको छ।