कञ्चनपुर - जिल्लाको शुक्लाफाँटा नगरपालिका-१० झलारीस्थित श्रीकृष्ण माध्यमिक विद्यालयका शिक्षक राजेन्द्रप्रसाद पाण्डेय सिकाइ प्रणालीलाई व्यवस्थित बनाउन दुई वर्षदेखि क्रियाशील रहँदै आएका छन् ।
कोरोना महामारीका कारण नियमित पठनपाठनको कार्य सुचारु हुन नसक्दा वैकल्पिक शिक्षा प्रणालीको माध्यमबाट प्रभावकारी र व्यवस्थित रूपमा सिकाइ सहजीकरण गर्नका लागि शिक्षक पाण्डेयले विद्यालयमा प्रविधिमैत्री वातावरण बनाउन निशिदिन काम गरे ।
रातदिनको एकल प्रयासबाट उनले विद्यार्थीहरूलाई 'अनलाइन शिक्षण' माध्यमबाट निरन्तर सहजीकरण गर्दै आएका छन् । सुदूरपश्चिम प्रदेशमै पहिलोपटक निजी लगानी र निजी साधनस्रोतको प्रयोग गरी उनले विद्यार्थीहरूका लागि निःशुल्क अनलाइन कक्षा सञ्चालन गरेका छन् ।
नयाँ युगमा शिक्षकद्वारा विद्यालयको पर्खालभित्र सीमित साधनस्रोतका भरमा दिइने परम्परागत शिक्षा प्रणाली अपूरो, अव्यावाहारिक र पुरानो भइसकेकाले यसलाई प्रविधिमैत्री बनाउन आवश्यक भएको बताउँदै उनले शिक्षण सिकाइमा व्यापक रूपमा इन्टरनेटको प्रयोग हुनुपर्नेमा जोड दिएका छन् । उनफे कोरोना महामारी फैलिनुअघिसमेत कक्षा कोठामै इन्टरनेटको प्रयोग गरी विद्यार्थीलाई पढाउने व्यवस्था गर्दै आएका थिए । अनलाइन कक्षामा प्रत्यक्ष रूपमा सहभागी हुन नसक्ने विद्यार्थीलाई उनले व्यक्तिगत अनलाइनको माध्यमबाट ब्लगमार्फत हेर्न, पढन र सिक्न सक्ने गरी कक्षा ६ देखि १० सम्मका गणित र विज्ञानका पाठयवस्तुहरू राखेका छन् । यसबाट धेरै जना विद्यार्थी लाभान्वित भएका छन् । अभिभावकले समेत सकारात्मक प्रतिक्रिया दिएका छन् ।
विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई पढाइने सबै विषय हप्तामा कम्तीमा एकपटक पठनपाठन हुने गरी प्रतिहप्ता प्रतिविषय १ दशमलव ५ घण्टाको शिक्षण कक्षा निर्धारण गरी समय सारणी (रुटिन) नै बनाएका छन् ।
पाण्डेयको एकल प्रयासमा अनलाइनमै परीक्षाको नतिजा
यसवर्ष श्रीकृष्णमा अध्ययनरत कक्षा १, २, ३, ४, ५, ६, ७ र ९ का विद्यार्थीहरूको वार्षिक परीक्षाको नतिजा अनलाइनमै हेर्न र डाउनलोड गर्न सक्ने गरी राखिएको छ । सामुदायिक विद्यालयलाई प्रविधिमैत्री बनाउने कार्य नारामै सिमित भएका बेला विद्यालयका शिक्षक पाण्डेयले परीक्षाको नतिजा विद्यार्थीले घरबाटै हेर्न सकिने गरी अनलाइनमा राखेका छन् । जसबाट परीक्षाको नतिजा हेर्नमात्रै नभएर लब्धाङ्कपत्रसमेत हेर्न र डाउनलोड गर्न सकिने गरी ब्लागमा राखिएको छ ।