फागुन १२, २०८० शनिबार

काठमाडौं- आयोजक केपी ओली फुटबल क्लब (केपीएफसी)ले दोस्रो केपी ओली कप फुटबलमा विजयी सुरुवात गरेको छ । शुक्रबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा भएको खेलमा केपीएफसीले चर्च ब्वाइजलाई ३–० ले पराजित गर्‍यो । केपीएफसीका लागि जय गुरुङले दुई तथा फोडे फोफानाले एक गोल गरे ।

जितसँगै केपी ओली क्लब क्वाटरफाइनल पुगेको छ । खेलमा नेपालका सातवटा ‘ए’ डिभिजन, दुई विदेशी तथा एक आयोजक गरी १० वटा टिमले सहभागिता जनाएका छन् । नेपालका सात टिममा जावलाखेल युथ क्लब, न्युरोड टिम एनआरटी, थ्रीस्टार, नेपाल पुलिस, त्रिभुवन आर्मी, चर्च ब्वाइज युनाइटेड, मच्छिन्द्र क्लब, दुई विदेशी क्लबमा दिल्ली एफसी, पश्चिम बङ्गाल क्लब र आयोजक केपी एफसी क्लब रहेका छन् ।


सेमिफाइनल र फाइनल खेलबाहेक सबै खेल एन्फा कम्प्लेक्स सातदोबाटोमा हुनेछन् । विजेता टोलीले ११ लाख रुपैयाँ पुरस्कार पाउने छ भने उपविजेताले ५ लाख प्राप्त गर्नेछ । यस्तै, उत्कृष्ट खेलाडीलाई एक लाख, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट गोलकर्ता र उत्कृष्ट उदीयमान खेलाडीलाई ५०–५० हजार रुपैयाँ प्रदान गरिने आयोजक राष्ट्रिय युवा सङ्घ नेपालले जनाएको छ ।