फागुन १४, २०८० सोमबार

गण्डकी, १४ फागुन : प्रेसमैत्री आमसञ्चार विधेयक ल्याउनुपर्नेलगायत माग राखी गण्डकी प्रदेशमा क्रियाशील पत्रकार सम्बद्ध सङ्घसङ्गठनले आज गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेसमक्ष चारबुँदै ध्यानाकर्षणपत्र बुझाएका छन् । 

    आइतबार कास्कीको धम्पुसमा बसेको प्रेस चौतारी नेपाल, नेपाल प्रेस युनियन, प्रेस सेन्टर नेपाल र समाजवादी प्रेस सङ्गठनको प्रदेश समितिका पदाधिकारीको बैठकमा भएका छलफल र निर्णयका आधारमा विभिन्न मागसहित मुख्यमन्त्रीमार्फत प्रदेश सरकारको ध्यानाकर्षण गराइएको हो ।

    प्रदेश सरकारले प्रदेशसभामा पेस गरेको आमसञ्चार विधेयकलाई पत्रकार र मिडियामैत्री हुने गरी पारित गर्न र तत्कालै प्रेस रजिष्टारको व्यवस्था गर्न माग गरिएको प्रेस सेन्टर गण्डकी प्रदेशका महासचिव सन्तोष गौतमले जानकारी दिनुभयो । 

    पत्रकार परिचयपत्र, नवीकरणका साथै सञ्चारमाध्यमको दर्ता र नवीकरणसमेत प्रदेश तहमै हुने व्यवस्था गर्न मुख्यमन्त्रीको ध्यानाकर्षण गराइएको उहाँको भनाइ छ । ध्यानाकर्षणपत्रमा पत्रकारको हकहित र क्षमता विकासका लागि पत्रकार महासङ्घलगायत पत्रकार सम्बद्ध सङ्घसङ्गठनलाई बजेट व्यवस्था हुनुपर्ने जनाइएको छ । 

    प्रदेश सरकारले चालु आवमा सञ्चार गृहलाई दिने लोककल्याणकारी विज्ञापनको दरका वृद्धि गरेकामा धन्यवाद दिँदै सोको वितरण प्रणालीलाई चुस्त बनाउनुपर्ने माग गरिएको छ । कार्यालय खोलेर व्यवस्थितरुपमा सञ्चालन भएका र न्यूनतम पारिश्रमिक लागू गरेका सञ्चारमाध्यमलाई मात्र लोककल्याणकारी विज्ञापन दिनुपर्ने माग राखिएको नेपाल प्रेस युनियन गण्डकी प्रदेश समितिका महासचिव प्रकाश ढकालले बताउनुभयो ।

    सरकारी कार्यालय तथा निकायबाट प्रकाशन तथा प्रसारण हुने सूचना÷विज्ञापन सम्बन्धित प्रदेश तथा जिल्लाका सञ्चारमाध्यमलाई दिनुपर्ने ध्यानाकर्षणपत्रमा उल्लेख छ । ध्यानाकर्षणपत्र ग्रहण गरेपछि मुख्यमन्त्री पाण्डेले सञ्चार क्षेत्रको विकास र शसक्तीकरणका लागि प्रदेश सरकार सहयोगी बन्न तयार रहेको बताउनुभयो । 

    आमसञ्चार विधेयकले सञ्चार क्षेत्र थप व्यवस्थित हुने धारणा राख्दै आगामी आर्थिक वर्षमा सञ्चारको बजेट थप वृद्धि गर्ने प्रतिबद्धता जनाउनुभयो । मुख्यमन्त्री पाण्डेले प्रदेशसभाको आगामी हिउँदे अधिवेशनबाट आमसञ्चार विधेयक पारित हुने बताउनुभयो ।