चौतारा (सिन्धुपाल्चोक), १७ फागुन : सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिकाले लक्षित वर्गलाई सञ्चालन गरेको स्वास्थ्य बीमा कार्यक्रम प्रभावकारी बन्दै गएको छ ।
नगरपालिकाले सहिद तथा बेपत्ता परिवार, जनयुद्ध तथा जनआन्दोलनका घाइते, ‘ख’ वर्गका अपाङ्गता भएका व्यक्ति, महिला स्वास्थ्य स्वयंसेविका र दीर्घरोग लागेका व्यक्तिलाई लक्षित गरी स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गरेको छ ।
नगरपालिकाले हालसम्म (ख) वर्गका अपाङ्गता भएका दुई सय ५०, दीर्घरोगी ४०, सहिद तथा बेपत्ता परिवार ७१, जनयुद्ध तथा जनआन्दोलनका घाइते २९, महिला स्वास्थ्य स्वयंसेविका ७८ र वृद्धाश्रमका पाँचजना गरी चार सय ६१ जनाको स्वास्थ्य बीमा गरेको नगर उपप्रमुख सीता थापाले राससलाई जानकारी दिनुभयो ।
स्वास्थ्य बीमा कार्यक्रम सुरू भएपछि उत्साहजनकरूपमा लक्षित वर्गभित्र पर्ने नागरिक बीमामा आबद्ध भएको नगरप्रमुख कृष्णप्रसाद सापकोटा बताउनुहुन्छ । उहाँले नागरिकको स्वास्थ्योपचारमा स्थानीय सरकारले आफ्नो नीति कार्यक्रमबाट समेत सहयोग गर्दै आएको बताउनुभयो ।
स्वास्थ्य बीमा गर्दा नियमितरूपमा औषधि सेवन गर्नेुपर्ने तथा बिरामी भएको खण्डमा उपचार गर्न आउँदा रु एक लाखसम्मको उपचार गर्न पाउने हुँदा कार्यक्रम प्रभावकारी बनेको नगरपालिका–५ स्वास्थ्य बीमा कार्यक्रमका दर्ता सहयोगी गमली गुरुङ बताउनुहुन्छ । उहाँका अनुसार बीमा गर्न भ्याइनभ्याइ भएको छ ।
ऋण खोजेर भए पनि पैसा बोकेर अस्पताल जानुपर्छ भन्ने स्थानीयहरू अहिले बीमाको कार्ड बोकेर अस्पताल गए उपचार पाइन्छ भन्ने अवस्थामा पुगेको नगरापालिका स्वास्थ्य संयोजक शिव पुरीको अनुभव छ ।
नगरपालिकाका नागरिकले अस्पतालमा प्रसूति सेवा लिन जाँदासमेत बीमा कार्ड अनिवार्य बोक्ने गरेका छन् । “सुत्केरी गराउन अस्पताल लगेको धेरै दिन अस्पताल राख्दा अलिक बढी खर्च होलाजस्तो भएको थियो । पछि बीमाको कार्ड देखाएपछि त्यसैले काम ग¥यो”, चौतारा साँगाचोकगढी नगरपालिकाका वडा नं ३ का मिलन लामाले भन्नुभयो, “जम्मा तीन हजार पाँच सय तिरेर बीमा गरेको त्यो पनि हराउला भन्ने लाग्थ्यो, उपचारमा त निकै सहयोग पो हुँदोरहेछ त ।”