फागुन १८, २०८० शुक्रबार

दमक, १८ फागुन : शहीद दिवसका अवसर पारेर झापामा केपी ओली ‘रोड रेस’ आयोजना गरिने भएको छ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) निकट नेपाल खेलकुद महासङ्घ कोशी प्रदेश कमिटीले दमकमा पत्रकार सम्मेलन गरी केपी ओली रोड रेस प्रतियोगिताका बारेमा जानकारी दिएको हो ।

    महासङ्घका प्रदेश कमिटी अध्यक्ष राजकुमार दाहालले यही फागुन २१ गते जिल्लाको चारपानेदेखि सुखानीसम्म करिब ११ किलोमिटर लामो रोड रेस हुने भएको र त्यसका लागि आवश्यक तयारी तीव्र पारिएको जानकारी दिनुभयो ।

    पार्टी अध्यक्षका नाममा महासङ्घले गत वर्षदेखि खेलकुदका विभिन्न गतिविधि सञ्चालन गर्दै आएको छ । सडक दौडका विजेताले रु ५१ हजार, उपविजेताले रु ३१ हजार, तृतीयले रु २१ हजारसहित उत्कृष्ट १० खेलाडीलाई नगद र प्रमाणपत्रसहित पुरस्कृत गरिने जनाइएको छ । महिला र पुरुष दुवैले सोही पुरस्कार पाउने आयोजक खेलकुद महासङ्घले जनाएको छ ।

    सो दौड सम्पन्न गर्न विभिन्न एक दर्जनभन्दा बढी विभागीय उपसमिति गठन गरी तयारी तीव्र पारिएको रोड रेस मूल व्यवस्थापन समितिका संयोजक रहेका महासङ्घका प्रदेश अध्यक्ष थापाले जानकारी दिनुभयो । रोड रेसमा देशभरिका करिब एक हजार धावकले सहभागिता जनाउने अनुमान गरिएको छ ।

    यसैगरी, झापाको दमकमा आजदेखि तेस्रो याक्थुङ साम्लो महोत्सव सुरु भएको छ । लिम्बू कलाकर्मीको सङ्गठन फक्तालुङ सांस्कृतिक मञ्चले दमकको पशुहाट मैदानमा आयोजना गरेको दुईदिने साम्लो महोत्सवको किरात याक्थुङ चुम्लुङका सङ्घीय अध्यक्ष प्रेम येक्तेनले उद्घाटन गर्नुभयो ।

    लिम्बू समुदायभित्रको लोपन्मुख गीत–सङ्गीतलाई उजागर गर्न याक्थुङ साम्लो महोत्सवको आयोजना गरिएको मञ्चका अध्यक्ष पूर्णकुमार शेर्मा (यादेन) ले बताउनुभयो । महोत्सवमा लिम्बू समुदायको मौलिक संस्कृति तथा मुन्धुमी लोक साम्लो गीत, पालम, ख्याली, हाक्पारे, केलाङको प्रस्तुति रहने उहाँले जानकारी दिनुभयो ।

    महोत्सवको पहिलो साँझ पालाम, हाक्पारे, ख्याली र धान नाचका साथमा कलाकार दीपक लिम्बू, मनु नेम्वाङ, ताराप्रकाश लिम्बू, शाहील लिम्बू, गोविन्द लिम्बू, नोगेन लिम्बू, रुक्शाना लिम्बू, एकान्त लिम्बू र अन्य कलाकारले साङ्गीतिक प्रस्तुति दिनेछन् ।

    साथै ‘याक्थुङ साम्लोमा माङसिवाखाहुन’ र ‘लोपोन्मुख याक्थुङ साम्लोमा ताम्के’ विषयक दुई कार्यपत्र प्रस्तुत हुने तथा त्यसमाथि अन्तरक्रिया गरिने कार्यक्रम रहेको अध्यक्ष शेर्माले बताउनुभयो । मञ्चले यसअघि हाक्पारे पालाम महोत्सव भनेर पहिलोपटक पाँचथरको फिदिम र दोस्रो तेह्रथुमको म्याङलुङमा आयोजना गरेको थियो ।