असार २३, २०७८ बुधबार

फाइल तस्बिर

नेपाली काँग्रेसको १४ औं महाधिवेशनको मिति तोकिएसँगै नेताहरू चुनावी दौडमा होमिएका छन् । जिल्लाको अधिवेशन २६ साउनमा हुने मिति सार्वजनिक भएलगत्तै सुदूरपश्चिम प्रदेशमा पनि जिल्ला सभापतिका आकांक्षीले दाबी प्रस्तुत गर्न थालेका छन् ।

कञ्चनपुरमा पनि जिल्ला सभापतिको रस्साकस्सी सुरु भइसकेको छ। जिल्लामा वर्तमान सभापति हरि बोहोरा, गत अधिवेशनमा बोहोरासँग पराजित पदम बोगटी, गोपाल गुरुङ, नेता बहादुरसिंह थापालगायतको नाम चर्चामा छ।

प्रदेशको राजधानी कैलालीमा जिल्ला सभापतिका आकांक्षी धेरै देखिएका छन्। जिल्ला सभापति नरनारायण शाह (मनु) ले दुई कार्यकाल पार्टी सभापति पदको जिम्मेवारी पूरा गरिसकेकाले अब कैलालीमा नयाँ सभापति आउने पक्का छ। त्यसका लागि प्रकाश बम, नारायणदत्त भट्ट, भीम बडुवाल, खेमराज चौधरी, कमल शाह, डा.रणबहादुर रावल, दिनेशराज जोशी, गणेश देउवालगायतको नाम चर्चामा छ।

सभापति शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुरामा देउवाले परशुराम नगरपालिका मेयर भीमबहादुर साउँदलाई अगाडि सारेको चर्चा छ भने नवलबहादुर मल्ल, वर्तमान उपसभापति करुणाकर भट्टलगायतको नाम चर्चामा छ । 

बाजुरामा नेताहरू मनबहादुर रावल, रामसिंह रावल, प्रेमबहादुर शाहील र वर्तमान सभापति कविराज पण्डित जिल्ला सभापतिमा भिड्ने तयारीमा छन्। 

बैतडीमा वर्तमान सभापति नरेन्द्रसिंह थापा दोहोरिने योजनामा छन् भने पूर्वसभापति शिवराज भट्ट, उपसभापति चतुरबहादुर चन्द र सचिव वीरबहादुर विष्ट पनि सभापति बन्ने लविङमा छन्। 

अछाममा वर्तमान सभापति भरतकुमार स्वार, पूर्वसभापतिद्वय पुष्पबहादुर शाह, मेघराज खड्का, नेता गणेशबहादुर विष्ट, रामबहादुर विष्ट, बलबहादुर कुँवर, ध्वजबहादुर कुँवर र टीकाराम खनालको नाम चर्चामा छ। 

डोटीमा जिल्ला सभापतिका लागि वर्तमान सभापति प्रदीप देउवा, शिखवर नगरपालिकाका मेयर सीताराम जोशी, नेताहरु रामप्रसाद उपाध्यक्ष, दीपक विष्ट र भूमिराज बडूको नाम चर्चामा छ। 

बझाङमा वर्तमान सभापति हर्कजङ्गबहादुर सिंह, पूर्वसभापति पृथ्वीबहादुर सिंह, चेतराज बजाल, पूर्वउसभापति देवराज शर्मा, नेता जगत जोशी, खडगबहादुर बोहोरा र रमेश भण्डारीको नाम चर्चामा छ।

पौडेल पक्षीय नेता दिलेन्द्र बडूको गृहजिल्ला दार्चुलामा वर्तमान सभापति ललितसिंह बोहोरा, १३ औं जिल्ला अधिवेशनमा पराजित विक्रम धामी, पूर्वसभापति जगदीश पाल, उपभापति अमर धामी, सचिव हर्क बिष्टलगायतका नेताहरूको नाम चर्चामा छ।

१३ औं महाधिवेशनमा ९ जिल्ला मध्ये ६ जिल्लाका सभापतिमा शेरबहादुर देउवा निकट नेताहरू निर्वाचित भएका थिए।