कञ्चनपुर, १९ फागनु क्रिकेट खेलप्रति युवाको आकर्षण बढ्न थालेपछि शुक्लाफाँटा नगरपालिका–५ स्थित शिवशङ्कर मावि परिसरमा क्रिकेट अभ्यासस्थल निर्माण गरिने भएको छ । राष्ट्रिय तथा अन्तररष्ट्रियस्तरका क्रिकेट खेलाडी उत्पादन गर्ने उद्देश्यले क्रिकेट मैदान तथा अभ्यासस्थल निर्माण गर्न लागिएको हो ।
सुदूरपश्चिम प्रदेश सरकारको रु आठ लाख २० हजारको लागतमा क्रिकेट अभ्यसस्थल निर्माण हुन लागेको वडाध्यक्ष चक्र बहादुर खड्काले बताउनुभयो । उहाँका अनुसार निर्माणमा उपभोक्ता समितिको रु एक लाख २० हजार बराबरको श्रमदान रहनेछ ।
विद्यालयको चलनभोगमा रहेको १५ कठ्ठा जग्गामा अभ्यासस्थल र मैदान निर्माणका लागि आवश्यक तयारी अगाडि बढाइएको वडाध्यक्ष खड्काले बताउनुभयो । “खेल मैदान निर्माण भएपछि क्रिकेटप्रति रुचि राख्नेहरुलाई अभ्यास गर्न सहज हुन्छ”, उहाँले भन्नुभयो, “क्रिकेटबारे जानकारी लिन्छन्, समूहमा बसेर खेल अभ्यास गर्छन्, जसले गर्दा यहाँका युवा कूलतमा फस्ने सम्भावना पनि कम हुन्छ ।”
अभ्यासस्थल निर्माणका लागि मैदान सम्याउने, खाल्ड खुल्डी पुर्नेलगायतका काम भइरहेको उपभोक्ता समितिका अध्यक्ष नरेन्द्र शाहीले बताउनुभयो । “मैदान सम्याउने र रोलिङको भइरहेको छ । यो काम सकिएपछि क्रिकेट मैदान पिच गर्न तयार गर्नेछौँ”, उहाँले भन्नुभयो ।
शाहीका अनुसार पिचको लम्बाई २२ र चौडाई ४ मिटर रहनेछ । पिच तयार गर्न ढुङ्गाको सोलिङ गरेर रोलिङको कार्य भइरहेको भन्दै त्यसमाथि राटो चिम्टाइलो माटो राखेर पिच गरिने उहाँले बताउनुभयो ।
क्रिकेट अभ्यासस्थलसँगै तयार हुँदै गरेको मैदानमा स्थानीयस्तरदेखि राष्ट्रियस्तरका प्रतियोगिता खेलाउन मिल्ने समितिका अध्यक्ष शाहीको भनाइ छ । “यसअघि स्थानीयस्तरमै क्लब, विद्यालय स्तरीय क्रिकेट प्रतियोगिता आयोजना गर्नका लागि मैदानको अभावमा खेलाडीले सास्ती खेप्नु परेको थियो”, उहाँले भन्नुभयो, “अभ्यासस्थलसँगै मैदान तयार भएपछि विभिन्न स्थानीय तथा विद्यालय स्तरीय प्रतियोगिता गर्न सहज हुनेछ ।”
मैदानको चारैतर्फ ३६ इन्च उचाईको प्याराफिट तयार गर्ने उपभोक्ता समितिको योजना छ । प्याराफिटमा १८ इन्चका दुई वटा खुटकिला तयार गरिने छन् । यहाँ बसेर क्रिकेट प्रतियोगिता हेर्न सकिने अध्यक्ष शाहीले बताउनुभयो ।
खेल मैदान र अभ्यासस्थल निर्माण पूरा भएपछि खेलाडीलाई आवश्यक सामग्री उपलब्ध गराइने वडाध्यक्ष खड्काले बताउनुभयो । “अभ्यासका लागि नेट जाली राख्छौँ”, उहाँले भन्नुभयो, “क्रमशः अभ्यास गर्ने खेलाडीलाई आवश्यक पर्ने सामग्रीको व्यवस्था गर्दै जानेछौँ साथै प्रशिक्षकको पनि व्यवस्था गर्नेछौँ ।”
जिल्ला र प्रदेश स्तरमा हुने क्रिकेट प्रतियोगिताको व्यवस्थापनको भूमिकामा रहँदै आएका विवेक रावलले क्रिकेट अभ्यासस्थल र मैदान निर्माण हुन लागेकामा खुसि व्यक्त गर्दै यस कार्यले क्रिकेटप्रति रुचि राख्ने खेलाडीलाई सहयोग पुग्ने बताउनुभयो ।