फागुन १९, २०८० शनिबार

भक्तपुर, १९ फागुन: मध्यपुरथिमि नगरपालिका बाहखाबजारमा रहेको ग्ल्याण्ड स्टोन एकेडेमीले सयौँ विद्यार्थी तथा अभिभावकबीच आज शैक्षिक प्रर्दशनी ‘एडु एक्स्पो–२०८०’ आयोजना गरेको छ । 

उक्त एकेडेमीका कक्षा ४, ५, ६, ७ र ८ का विद्यार्थीले एक महिनाको मेहनतबाट तयार पारेका शैक्षिक सामग्रीयुक्त प्रदर्शनीको मध्यपुरथिमि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठले उद्घाटन गर्नुभयोे । त्रिसठ्ठीवटा प्रदर्शनी कक्षमा विद्यार्थीले मानवीय जीवनमा गर्दै आएका क्रियाकलापलाई वैज्ञानिक एवं प्राविधिकरूपमा कसरी सहज एवं व्यावहारिकरूपमा उपयोग गर्न सकिन्छ भन्ने विषय समावेश गरिएको एकेडेमीका प्राचार्य विनोद कोइरालाले बताउनुभयो ।

विद्यार्थीमा पठन संस्कृतिको विकास होस् भनेर विद्यार्थीलाई तीन महिनामा पाठ्यक्रमभन्दा बाहिरका दुई पुस्तक अनिवार्य पढ्नुपर्ने नियम रहेको प्रदर्शनीमा बुक स्टलसमेत राखिएको प्राचार्य कोइरालाले जानकारी दिनुभयो ।

विद्यालयका कार्यकारी निर्देशक प्रदीप श्रेष्ठले विद्यार्थीलाई पाठयक्रमसँगै विज्ञान, प्रविधि, समाजलगायतका विषयमा जानकारी दिने र उनीहरूको आत्मविश्वास बढाउन अभिप्रेरित गर्न प्रदर्शनी सफल भएको बताउनुभयो ।