फागुन २०, २०८० आइतबार

कर्णाली, २० फागुन ः कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्माले प्रकृति र मानवबीचको सङ्घर्षलाई सन्तुलित राख्नुपर्ने बताउनुभएको छ ।

बर्दिया राष्ट्रिय निकुञ्जद्वारा आज बारबर्दिया नगरपालिका–९ बर्दिया खैरेनीस्थित सतखलुवा स्वामीको वृक्षरोपण गरी ‘चोरी सिकारी नियन्त्रण युवा परिचालन’ अभियान उद्घाटन गर्दै मुख्यमन्त्री शर्माले प्रकृतिको उचित संरक्षण र उपभोगबिना मानव अस्तित्व खतरामा जाने बताउनुभयो । यसका लागि मानव गतिविधि प्रकृतिमैत्री हुनुपर्ने उहाँको भनाइ थियो ।  

मुख्यमन्त्री शर्माले भन्नुभयो, “प्रकृतिसँगको आजको मानव व्यवहारले भोलिको पुस्ताको जीवन निर्धारण गर्दछ । तसर्थ वातावरण जोगाएर दिगोरुपमा उपयोग गर्न वन र वन्यजन्तु संरक्षणमा स्थानीय समुदायको भूमिका अत्यावश्यक छ । प्रकृति अर्थात् वन र वन्यजन्तु संरक्षण र उपभोगको नेतृत्व अब युवा पिँढीले गर्नुपर्दछ ।” 

उहाँले वन र वन्यजन्तु मानिसका साथी भएको उल्लेख गर्दै तिनको संरक्षण गर्ने कार्यलाई आयआर्जनको माध्यम बनाउनुपर्नेमा जोड दिनुभयो । आम्दानीको केही हिस्सा सेवा क्षेत्रका समुदायले पाउनुपर्छ भन्दै उहाँले त्यसको धेरै हिस्सा सेवा क्षेत्रको विकासमा लगानी गरिनुपर्छ ।” 

वातावरण जोगाउने नाममा जनतालाई आधारभूत अधिकारबाट वञ्चित गर्न नहुने बताउँदै मुख्यमन्त्री शर्माले निकुञ्जको संरक्षणका साथै त्यस क्षेत्रमा हुने विकासको गतिलाई अगाडि बढाउनुपर्ने धारणा राख्नुभयो । 

बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत अशोक रामले पछिल्लो समयमा निकुञ्ज क्षेत्रमा वन्यजन्तुको सङ्ख्यामा वृद्धि हुँदै गएको बताउनुभयो । “मानव र वन्यजन्तुबीचको द्वन्द्व कम गर्दै प्रकृति संरक्षण गर्न सबै सरोकारवालाको उत्तिकै भूमिका छ”, उहाँले भन्नुभयो, “वन र वन्यजन्तुको संरक्षणले मानव अस्तित्व पनि जोगिँदै जान्छ ।” चोरी सिकारी नियन्त्रण युवा परिचालन अभियानका अध्यक्ष हेमन्त आचार्यले युवाको सक्रियतामा वन र वन्यजन्तु चोरी सिकारी रोक्न अभियान सञ्चालन गरिएको बताउनुभयो ।

उहाँका अनुसार पछिल्लो समयमा निकुञ्ज क्षेत्रमा बढ्दै गएको चोरी सिकारी रोक्न अभियानले सारथीको भूमिका निर्वाह गर्नेछ । यसबाट युवामा सचेतता ल्याउन सहयोग पुग्नुका साथै वन वातावरण संरक्षणका गतिविधि सञ्चालनमा मद्दत पुग्नेछ । उक्त अभियानमा तीन हजार युवाको सहभागिता रहने अध्यक्ष आचार्यले बताउनुभयो ।