घोराही (दाङ), २० फागुन : सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले साइबर सुरक्षासम्बन्धी कानुन नहुँदा समस्या परेको बताउनुभयो । आज घोराहीमा सरकारी कार्यालयका प्रमुख तथा सूचना प्रविधि अधिकारीका लागि लक्षित गरी आयोजना गरिएको साइबर सुरक्षासम्बन्धी अभिमुखीकरण कार्यक्रममा उहाँले कानुन निर्माणका लागि सरकार अगाडि बढेको समेत उल्लेख गर्नुभयो ।
उहाँले साइबर सुरक्षासम्बन्धी कानुन निर्माणका लागि सरकारलाई सुझाव दिन आग्रह गर्नुभयो । सबै क्षेत्रको सुझाव सङ्कलन गरेर सरकार कानुन निर्माण गरेर अगाडि बढ्ने बताउँदै उहाँले हरेक नागरिकलाई सचेत गराउन तीनै तहका सरकारले सचेतना कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो ।
सूचना प्रविधिको प्रयोगले सेवालाई सहज, छिटो बनाइदिने भए पनि कतिपय अवस्थामा दुरुपयोग हुँदा यसको असर धेरै क्षेत्र उहाँको भनाइ थियो । सरकारी कार्यालयमा सूचना तथा तथ्याङ्क सुरक्षित कसरी राख्ने भन्ने विषयमा जानकारी दिने उद्देश्यले कार्यक्रम आयोजना गरिएको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका उपसचिव राजकुमार महर्जनले जानकारी दिनुभयो ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको आयोजनामा आयोजित अभिमुखीकरणमा पछिल्लो समय बढ्दो साइबर अपराध र यसका चुनौती तथा आवश्यक नीतिगत विषयमा जानकारी गराइएको छ ।
सो अवसरमा दाङका प्रमुख जिल्ला अधिकारी रामबन्धु सुवेदीले साइबर सुरक्षा संवेदनशील विषय रहेको बताउनुभयो । नागरिकको सूचना सरकारी निकायसँग रहने भन्दै यसलाई सुरक्षित, व्यवस्थितरुपमा राख्नुपर्ने उहाँले बताउनुभयो ।