फागुन २१, २०८० सोमबार

नोम पेन्ह, २१ फागुन: कम्बोडिया र बेलायतले द्विपक्षीय सांस्कृतिक सम्बन्ध र आपसी समझदारीलाई थप विस्तार गर्न सोमबार सहमति जनाएका छन् ।

कम्बोडियाका संस्कृति तथा ललितकला मन्त्री फ्युरङ साकोना र कम्बोडिया भ्रमणमा रहनु भएका बेलायती इन्डो–प्यासिफिक राज्यमन्त्री एनी मारी ट्रेभल्यानबीच उक्त सम्झौता राजधानी नोम पेन्हमा भएको हो ।

कम्बोडियाको संस्कृति तथा ललित कला मन्त्रालयले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ- "दुवै पक्ष पुरातन वस्तुहरूको अवैध तस्करी रोक्न सहमत भएका छन्।"

मन्त्री साकोनाले आफ्नो देशबाट लुटिएका महत्त्वपूर्ण पुरातात्विक वस्तुहरू फिर्ता गरेकामा बेलायतलाई विशेष धन्यवाद पनि व्यक्त गर्नु भएको छ ।

सन् २०२३ फेब्रुअरीमा बेलायतले युद्धकालमा लुटिएका ७७ वटा पुराना गहना कम्बोडियालाई फिर्ता गरेको थियो।  यसैगरी सन् २०१७ डिसेम्बरमा पनि एङ्कोरियन कालका १० वटा स्वर्ण आभूषण कम्बोडियालाई फिर्ता गरिएको थियो गर्यो।

बेलायती राज्यमन्त्री दुई देश बीचको व्यापार, आर्थिक विकास र शिक्षा क्षेत्रको सहकार्यलाई सुदृढ गर्ने उद्देश्यले ३ दिने भ्रमणका क्रममा शनिबार नोम पेन्ह आइपुग्नु भएको छ।