चैत १, २०८० बिहिबार

चौतारा (सिन्धुपाल्चोक), १ चैत : गत वर्षदेखि सिन्धुपाल्चोकका चार स्थानीय तहमा सञ्चालनमा आएको मातृ तथा बालपोषण आयोजनाअन्तर्गतको साना अनुदान कार्यक्रम महत्वपूर्ण भए पनि कार्यान्वयन झन्झटिलो भएको सरोकारवालाको भनाइ छ । 

    बागमती प्रदेश सरकार, स्वास्थ्य मन्त्रालय, स्वास्थ्य निर्देशनालयको विशेष अनुदान कार्यक्रम कम्पोनेन्ट २ अन्तर्गत हेलम्बु, पाँचपोखरी थाङ्पाल, लिसङ्खुपाखर र भोटेकोसी गाउँपालिकामा सञ्चालित यो कार्यक्रम प्रभावकारी रहे पनि कार्यक्रम सञ्चालनमा समस्या आएको सरोकारवालाले दाबी गरेका हुन् । कार्यक्रम सञ्चालनका लागि स्वास्थ्य आमासमूह वैधानिकरुपमा गठन गर्नुपर्ने, अनिवार्य स्थायी लेखा (पान) नम्बर लिनुपर्ने, सम्झौताका लागि स्वास्थ्य कार्यालयमा धाउनुपर्ने र आर्थिक वर्षको अन्तिमतिर कार्यक्रम सञ्चालनका लागि जानकारी आउने परिपाटीले कार्यक्रम झन्झटिलो भएको सरोकारवालाको भनाइ छ ।

    कार्यक्रम झन्झटिलो प्रक्रियाकै कारण गत वर्ष भोटेकोसी गाउँपालिकाले सञ्चालन गर्न नसकेको गाउँपालिकाका स्वास्थ्य संयोजक भूपेन्द्रलाल श्रेष्ठले बताउनुभयो । पाँचपोखरी थाङ्पाल गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख आत्मराम धिताल, लिसङ्खुपाखर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिलकृष्ण श्रेष्ठ, आमा समूहकी विमला भण्डारी, सरस्वती लामिछानेले कार्यक्रम कार्यान्वयनमा आवश्यकताभन्दा बढी समस्या आएको बताउँदै सहज तरिकाले कार्यक्रम सञ्चालनका लागि पहल हुनुपर्नेतर्फ ध्यानाकर्षण गराउनुभयो ।

    स्वास्थ्य कार्यालय सिन्धुपाल्चोकद्वारा आयोजित साना अनुदान कार्यक्रमको समीक्षा तथा भावि योजनातर्जुमा कार्यक्रममा स्वास्थ्य प्रमुख दुर्गा बजागाईंले गत वर्ष सञ्चालित कार्यक्रमको प्रगति, औचित्य र भावि योजनाका बारेमा प्रष्ट पार्दै सम्झौताका लागि स्वास्थ्य कार्यालय चौतारा धाउनु नपर्ने योजना बनाएको बताउनुभयो ।
   
    गत वर्ष कार्यक्रममार्फत हेलम्बु, पाँचपाखरी थाङ्पाल र लिसङ्खुपाखरका आमासमूहलाई फिल्टरसहितको जुठेल्नो निर्माण, कुटानीपिसानी मिल र सुधारिएको चुलोलगायत सामग्री वितरण भएको थियो ।