काठमाडौँ, १ चैत : रामेछाप–काठमाडौँ पत्रकार समाजले काठमाडौँमा फुटसल प्रतियोगिताको आयोजना गर्ने भएको छ । रामेछापबाट काठमाडौँमा आएर विभिन्न पेसा, व्यवसाय तथा सङ्घ–संस्थामा आबद्ध जिल्लावासीलाई लक्षित गरी यही चैत १० गतेदेखि ‘दोस्रो रामेछाप कप फुटसल प्रतियोगिता’ गर्न लागिएको हो ।
आयोजकका अध्यक्ष दीपेन्द्र गुरुङका उहाँका अनुसार उक्त प्रतियोगिता स्पोर्टस् सेन्टर बालुवाखानी कपनमा हुनेछ । प्रतियोगितामा व्यक्तिगत एवं संस्थागत रुपमा रामेछाप जिल्लावासीले सहभागिता जनाउन सक्ने उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार प्रतियोगितामा आठ जनासम्म खेलाडी सहभागी हुन पाउनेछन् ।
प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने टोलीलाई क्रमश: रू ५० हजार, रू ३० हजार र रू २० हजार नगदसहित शिल्ड पुरस्कार प्रदान गरिने समाजका उपाध्यक्ष यसिमा महतले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “रामेछापबाट काठमाडौँ आएर काम गरिरहेका, विभिन्न पेसा, व्यवसाय तथा सङ्घसंस्थामा आबद्ध व्यक्तिलाई लक्षित गरी फुटसलको आयोजना गरेका हौँ । यसपटक पुरस्कार राशि पनि अघिल्लोपटक भन्दा दोब्बर बनाएका छौँ ।”
प्रतियोगिताका लागि समूह दर्ता हुने क्रम सुरु भइसकेको समाजका सदस्य सुवास सुनुवारले जानकारी दिनुभयो । “सहभागिताका लागि समूह दर्ता सुरु गरेका छौँ”, उहाँले भन्नुभयो, “यो प्रतियोगिता मात्र नभई रामेछापवासीबीच आपसी सद्भाव बढाउने र खेलप्रति प्रोत्साहन गराउने उद्देश्य लिएका छौँ । यसपटक रामेछापका युवा खेलाडीको उत्साहजनक सहभागिता हुने आशा गरेका छौँ ।” उहाँका अनुसार समूह दर्ताका लागि चैत ९ गतेसम्म समय निर्धारण गरिएको छ ।
यसअघि लिखु भुजी युवा क्लब रामेछापलाई ट्राइब्रेकरमा २–० ले पराजित गर्दै अनेरास्ववियुले ‘प्रथम रामेछाप कप फुटसल’ को उपाधि जितेको थियो । तेस्रो स्थानका लागि भएको खेलमा महाकाली युवा क्लबलाई २–० ले पराजित गर्दै डाइनामिक युथ क्लब तेस्रो भएको थियो । गत संस्करणका विजेता प्रथम, द्वितीय र तृतीयलाई क्रमश: रू २५ हजार, रू १५ हजार र रू १० हजार नगद पुरस्कार प्रदान गरिएको आयोजकले जनाएको छ । अघिल्लो संस्करणमा जिल्लाका २७ समूहको सहभागिता थियो ।
रामेछाप–काठमाडौँ पत्रकार समाज रामेछापबाट काठमाडौँ उपत्यकामा आएर पत्रकारिता क्षेत्रमा सक्रिय पत्रकारको साझा संस्था हो । उक्त संस्था जिल्ला प्रशासन कार्यालय काठमाडौँमा दर्ता भएको छ ।