नयाँदिल्ली, ३ चैत: प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्ना भुटानी समकक्षी दासो छिरिङ तोग्वेको निमन्त्रणा स्वीकार गर्दै आगामी साता भुटान भ्रमण गर्ने तयारी गर्नुभएको छ । भ्रमणको अन्तिम तालिका भने सार्वजनिक हुन बाँकी छ ।
भुटानी प्रधानमन्त्री तोग्वेले बिहीबार नयाँदिल्लीमा प्रधानमन्त्री मोदीसँग भेट गर्नुभएको थियो । “भुटानका प्रधानमन्त्रीले हाम्रा प्रधानमन्त्री मोदीसँग भेट गर्नुभयो । प्रधानमन्त्री तोग्वेले उहाँलाई भुटान भ्रमणको निम्तो दिनुभयो”, प्रधानमन्त्रीले भुटानी समकक्षी तोग्वेको निमन्त्रणा स्वीकार गरेपछि आयोजित पत्रकार सम्मेलनमा भारतका विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले भन्नुभयो ।
भ्रमणको विस्तृत विवरण थप निर्णय भएपछि सार्वजनिक गरिने उहाँले बताउनुभयो ।
भुटानका राजाका तर्फबाट प्रधानमन्त्री छिरिङ तोग्वेले प्रधानमन्त्री मोदीलाई भुटान भ्रमणका लागि आमन्त्रणा गर्नुभएको हो । प्रधानमन्त्री मोदीले आगामी साता भुटानको भ्रमण गर्नुहुने मन्त्रालयले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।
प्रधानममन्त्री तोग्वे भारतको औपचारिक भ्रमणमा हुनुहुन्छ । सन् २०२४ फेब्रुअरी २०२४ मा पदभार ग्रहण गरेपछि उहाँको यो पहिलो विदेश भ्रमण हो ।
दुवै प्रधानमन्त्रीले भेटमा पूर्वाधार विकास, ऊर्जा, जलविद्युत् सहयोग, विकास सहयोगलगायत विभिन्न द्विपक्षीय साझेदारीमा भएको प्रगतिबारे समीक्षा गर्नुभएको विज्ञप्तिमा जनाइएको छ । उहाँहरूले विशेष र अद्वितीय भारत–भुटान मित्रतालाई अझै सुदृढ पार्ने प्रतिबद्धता जनाउनुभयो ।
भुटानका राजा जिग्मे खेसर नामग्याल वाङ्चुकले सन् २०२३ नोभेम्बरमा भारतको औपचारिक भ्रमण गर्नुभएको थियो । भ्रमणका क्रममा उहाँ आसाम, नयाँदिल्ली र महाराष्ट्र पुग्नुभएको थियो । उक्त भ्रमणमा भुटानका राजा वाङ्चुक र प्रधानमन्त्री मोदीबीच द्विपक्षीय सहयोग र पारस्परिक हितका क्षेत्रीय तथा विश्वव्यापी मुद्दाहरूमा छलफल भएको थियो ।