चैत ५, २०८० सोमबार

बाजुरा, ५ चैत : जिल्लाको पूर्वी र उत्तरी भेगका चार पालिकाका नागरिक इलाका प्रशासन कार्यालय स्थापनाको माग गर्दै आइतबारदेखि आन्दोलित भएका छन् । 

कुण्डा भेगका नागरिकले राज्यको सेवा लिन वर्षाैंदेखि सदरमुकाम धाउनुपर्ने बाध्यता अन्त्य गर्न तथा उक्त क्षेत्रका नागरिकलाई नागरिकतालगायत अन्य सेवा प्रवाह इलाका प्रशासन कार्यालय स्थापनाबाट सहज हुने भएकाले त्यसो हुनुपर्ने माग गर्दै उनीहरू आन्दोलित भएका हुन् । 

आइतबार जिल्ला प्रशासन कार्यालय पुगेर प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेललाई शान्तिपूर्ण दबाब ¥्याली गर्दै ज्ञापनपत्र बुझाएको कुण्डाली सेवा समाज बाजुराका संयोजक नृपबहादुर थापा (भोटे)ले राससलाई जानकारी दिनुभयो । उहाँले कुण्डा क्षेत्रका नागरिकले राज्यबाट प्रदान हुने नागरिकता, विभिन्न सिफारिस लिन आफूहरूले हजाराँै रुपैयाँ खर्च गरेर आउनुपर्ने बाध्यत्मक अवस्था रहेकाले त्यसको अन्त्यका लागि इलाका प्रशासन कार्यालय स्थापनको मागसहित आन्दोलन गर्नुपरेको  बताउनुभयो । 

उहाँले सुदूरपश्चिम प्रदेशको गौरवको सडक मार्तडी–कोल्टी सडकमा नियमित बस सेवा सञ्चालन गर्न माग गरेको बताउनुभएको छ । भौगोलिक विकटताका कारण माथिल्लो क्षेत्रका चार पालिकाका नागरिकले राज्यको सेवा दुर्गम बस्तीका नागरिकले चार दिन लगाएर सदरमुकाम आउनुपर्ने परिस्थिति भएकाले इलाका प्रशासनको लागि दबाबमूलक आन्दोलन गर्न बाध्य भएको कुण्डाली क्षेत्रका नागरिक हीराबहादुर रोकायाले बताउनुभएको छ । 

प्रमुख जिल्ला अधिकारीलाई कुण्डाका नागरिकले पहिलो चरणमा प्रशासनलाई शान्तिपूर्ण दबाबमूलक ¥याली र ज्ञापनपत्र बुझाएको उहाँले बताउनुभयो । सरकारले कुण्डाली क्षेत्रका नागरिकको माग सुनुवाइ नगरपछि चरणबद्ध आन्दोलनका कार्यक्रम अघि सार्दै माग पुरा नभएसम्म दबाबमूलक कार्य जारी राख्ने उनीहरुको भनाइ रहेको छ । 

ज्ञापनपत्रमा तत्कालका लागि मार्तडी कोल्टी सडक खण्डको स्तरोन्नति नहुँदा बोलेरो जीप चल्ने गरेकाले नियमित बस सेवा सञ्चालनका लागि स्थानीय तहसँग समन्वय गरी सडक मर्मत गर्न सहजीकरण गरी बस दीर्घकालीन समस्या समाधानका लागि पूर्वाधार कार्यालयले निर्माण व्यवसायीलाई दबाब दिनुपर्ने, पूर्वी उत्तरी क्षेत्रको उपयुक्त स्थानमा इलाका प्रशासन कार्यालय हुने गरी जिल्ला प्रशासन कार्यालय बाजुराबाट सिफारिस भएको प्रगतिको राजनीतिक दल र प्रशासनलाई दबाब दिने र कुण्डाली सेवा समाजले जिल्लाबाट विभिन्न दलबाट नेतृत्व गर्ने दलका नेता तथा सांसद पूर्व सांसद र कर्मचारीलाई मार्तडी–कोल्टी नियमित बस सेवा र इलाका प्रशासन कहिले स्थापना हुन्छ ? म्यासेज गर्ने लेखिएको छ । 

कुण्डा क्षेत्रका जिल्ला सदरमुकाम मार्तडीमा बसोबास गर्दै आएका नागरिकको  गत शनिबारको भेलाले दबाबमूलक ¥याली तथा धर्ना कार्यक्रम अघि बढाउने संयोजक  थापाको भनाइ रहेको छ । उत्तरी क्षेत्रका नागरिकले वर्षायाममा प्रशासनबाट सरकारी सेवा लिनका लागि सहज नभएकाले  उनीहरुले राखेका माग सकारात्मक भएको प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेलले बताउनुभएको छ । 

ज्ञापनपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेलले सम्बन्धित मन्त्रालय र ज्ञापनपत्रमा उल्लेख गरिएका दल तथा व्यक्तिलाई पठाउने प्रतिक्रिया दिनुभएको छ ।