चैत ५, २०८० सोमबार

मन्थली (रामेछाप), ५ चैत :  जिल्ला अस्पताल रामेछापमा  आइतबार सञ्चालित एक दिने निःशुल्क मुटुरोग विशेषज्ञ स्वास्थ्य शिविरबाट तीन सय ४३ जना लाभान्वित भएका छन । 

जिल्ला स्वास्थ्य कार्यालय रामेछापमा मेडिकल सुपरिटेन्डेन्ड डा केशव श्रेष्ठका अनुसार  सहिद गङ्गालाल फाउन्डेसन नेपालको आयोजना, सहिद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रको प्राविधिक सहयोग र रामेछाप नगरपालिका तथा जिल्ला अस्पतालको सहयोगमा शिविर सञ्चालन गरिएको हो । शिविरमा गङ्गालाल अस्पतालका विशेषज्ञ चिकित्सकले सेवा दिनुभएको थियो । 
शिविरमा एक सय जनाको मुटुको भिडियो एक्सरे, एक सय १५ जनाको इसिजी र एक सय १८ जनाको  मुटु परीक्षण गरिएको  जिल्ला अस्पताल विकास समिति रामेछापका अध्यक्ष यम पाख्रिनले बताउनुभयो । दश जना मुटुरोगीलाई भने थप उपचारका लागि गङ्गालाल अस्पताल सिफारिस गरिएको छ । 
 
शिविरको उद्घाटन नेपाली कांग्रेसका पूर्वमहामन्त्री डा सशाङ्क कोइरालाले गर्नुभएको थियो । उद्घाटनका क्रममा उहाँले यस्ता शिविरले धेरै नागरिकलाई फाइदा पुग्ने भएकाले देशभर सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो ।