चैत ६, २०८० मंगलबार

काभ्रेपलाञ्चोक, ६ चैत ः यहाँको ऐतिहासिक एवं पर्यटकीय नगर धुलिखेलमा ‘जीवित देवता’का रूपमा पुजिने नवदुर्गा देवगण ङालाकेगु जात्रा (माछा मार्ने जात्रा) मनाइँदै छ । सोमबारदेखि सुरु भएको सो जात्रा हर्षोल्लासपूर्वक आज मध्यराति समापन हुनेछ । 

    परापूर्वकालदेखि मनाइँदै आइएको सो जात्राको किंवदन्तीअनुसार धुलिखेलको मुख्य बजारमा माछा मार्ने जात्रा सकिएलगत्तै नवदुर्गा देवगण श्रीखण्डपुर र चौकोट जाने कार्यक्रम हुन्छ । प्रत्येक वर्ष युवा–विद्यार्थी स्वास्थ्य लाभ र ज्ञान लाभका लागि नवदुर्गा देवगणको आशीर्वाद लिन तथा सेवा गर्न ङालाकेगु जात्रामा उपस्थित हुने गर्दछन् । धुलिखेल नगरपालिकाले नवदुर्गा जात्राका अवसरमा आज स्थानीय पर्वका रुपमा बिदासमेत दिएको छ ।

    धुलिखेलका स्थानीय नवदुर्गा देवगणबाट मुख्य प्रसाद गोका–पञ्चरङ्गी धागो, मोहनी–कालो टीका, पासुका–तीनरङ्गी धागो ग्रहण गरी आफ्नो क्षमताअनुसार दक्षिणा चढाएर देवगणको सेवा गर्ने परम्परा रहेको बताइएको छ । धुलिखेलका स्थानीय नयाँ घर निर्माण गर्दा र नयाँ व्यापार व्यवसाय सुरु गर्दा नवदुर्गा देवगणलाई स्वागत गरी पूजापाठ गर्नाले घरमा शान्ति, सुख र व्यापारमा सफलता मिल्ने जनविश्वास रहिआएको छ । 

    यस्तै जात्रामा भक्तजनको भौतिक र आर्थिक सहयोगका कारण देवगणको ऋण चुक्ता हुने गरेको भनाइ छ । तत्कालीन सरकारद्वारा धुलिखेल गाविसलाई नगरपालिका घोषणा गरेको वर्षमा नगरपालिकाको आयोजनामा नवदुर्गा देवगणलाई द्यो ब्वयकेगु (ठूलो भोजन ग्रहण) गराइएको नगरप्रमुख अशोक ब्याञ्जुले बताउनुभयो । 


    उहाँका अनुसार धुलिखेलका नागरिक नवदुर्गा देवगणलाई आफ्नो कुल देवताका रूपमा पुज्दै आएका छन् । धुलिखेलको मुख्य पर्व र जात्राका रूपमा नवदुर्गाको ङालाकेगु जात्रालाई लिइने ब्याञ्जू बताउनुहुन्छ । उक्त जात्रामा नवदुर्गा देवगणलाई नगर कार्यालयका तर्फबाट हरेक वर्ष पञ्चबली, पोशाक, भाले कुखुरा, अण्डा खुवाउने, किस्ली चढाउने र मुःबाहाँ (सुँगुर) बली दिने गरिन्छ । 

    जात्रामा मानव समाजमा हुने पारिवारिक महत्व, नारी क्रोध, दाम्पत्य जीवन, बाल्यपनको चकचके स्वभाव, चेली दुखेसो, सरसफाइ शिक्षा, सामूहिक भावना तथा लक्ष्य, शाकाहारी÷मांसाहारी, नारी सुन्दरता, मायाप्रेम, सम्मान, असत्यमाथि सत्यको विजय, पञ्च रङ्गको महत्व आदि विषयवस्तु प्रस्तुत गरिन्छ । बाजाको ताल र गीतको बोलमा यस जात्रामा नाङ्गो खुट्टामा नाच तथा नाटकीय शैलीमा प्रदर्शन हुने गर्छ । 

    ऐतिहासिक यस जात्रालाई दीर्घकालीनरुपमा सञ्चालन गर्न, जात्रा सभ्य र सुरक्षित सञ्चालन गर्न एवं स्थानीय कला र संस्कृतिलाई संरक्षण गर्न स्थानीय सरकारले समन्वय गरिरहेको नगर प्रमुख ब्याञ्जूले बताउनुभयो । काभ्रेपलाञ्चोकको नाला, बनेपा, श्रीखण्डपुर, चौकोट, पनौतीलगायतका स्थानमा नवदुर्गा देवगणको जात्रा मनाइँदै आइएको छ ।