महोत्तरी, १८ चैत : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँगको भेटपछि महोत्तरीका जनप्रतिनिधि र उद्यमी उत्साहित भएका छन् । जिल्ला सदरमुकाम जलेश्वरको भारतीय सीमावर्ती नाका भिठ्ठामोडमा सुक्खा बन्दरगाह निर्माणको माग लिएर जिल्लाका जनप्रतिनिधि र व्यवसायीले शनिबार प्रधानमन्त्री दाहाललाई भेटेर ज्ञापनपत्र बुझाएका थिए ।
“हामीले भिठ्ठामोड भन्सारमा सुक्खा बन्दरगाहको सम्भाव्यता र आवश्यकताबारे प्रधानमन्त्रीको ध्यानाकर्षण गरायौँ”, मटिहानी नगरपालिकाका प्रमुख हरिप्रसाद मण्डलले भन्नुभयो, “उहाँले विज्ञ टोलीबाट सम्भाव्यता अध्ययन गरेर काम अघि बढ्ने आश्वासन दिनुभएको छ ।” जिल्लाका विभिन्न नगरपालिका जनप्रतिनिधि तथा जलेश्वर, मटिहानी, गौशाला र बर्दिबासका उद्योग वाणिज्य सङ्घका प्रतिनिधिले प्रधानमन्त्रीलाई काठमाडौँमै भेटेर ज्ञापनपत्र बुझाएका थिए ।
विसं २०२६ मा भिठ्ठामोडमा स्थापित भन्सार कार्यालयको स्तरोन्नति गर्दै तेस्रो मुलुकसँग आयात निर्यात व्यवस्थित गर्न सुक्खा बन्दरगाह निर्माण गर्नुपर्ने जनप्रतिनिधि र व्यवसायीको माग थियो । जलेश्वर नगरपालिकाका प्रमुख सुरेश साह सोनारले सुक्खा बन्दरगाह निर्माण गर्न विज्ञसँग छलफल गरी काम अघि बढाउने प्रधानमन्त्रीबाट प्रतिबद्धता पाएको बताउनुभयो ।
प्रधानमन्त्रीसँगको भेटमा महोत्तरी–१ र ४ का प्रतिनिधिसभा सदस्य लक्ष्मी महतो कोइरी र महेन्द्रकुमार राय एवं जलेश्वर, मटिहानी, गौशाला र लोहारपट्टी नगरपालिकाका प्रमुख क्रमशः सुरेश साह सोनार, हरिप्रसाद मण्डल, डा दीपेन्द्र महतो र शैलेन्द्र यादव सहभागी थिए । त्यसैगरी बर्दिवास, गौशाला, जलेश्वर र मटिहानी उद्योग वाणिज्य सङ्घका प्रतिनिधिसमेत भेटमा सहभागी थिए ।
भिठ्ठामोड वीरगञ्जपछि मधेसको सबैभन्दा बढी चल्तीको नाका हो । तेस्रो मुलुकसम्म आयातनिर्यात गर्न कोलकाता बन्दरगाहबाट भिठ्ठामोड नाका वीरगञ्जभन्दा कम दूरीमा रहेको जनप्रतिनिधिको भनाइ छ । उनीहरुले भिठ्ठामोड (जलेश्वर) भन्सार कार्यालयको पूर्वाधार र जनशक्ति वीरगञ्जपछि सबैभन्दा राम्रो रहेको प्रधानमन्त्रीसमक्ष जानकारी गराएका थिए ।
भारतको कोलकातादेखि जयनगरसम्म सञ्चालनमा रहेको रेलमार्गसँगै जोडिएर नेपालतर्फ जयनगर–बर्दिवास रेलसेवा विस्तारको काम भइरहेको छ । बर्दिवासमा रेल्वेले अधिग्रहण गरेको ५२ बिघा क्षेत्रफलको जग्गामा कार्गो व्यवस्थापन गरी भिठ्ठामोडमा सुक्खा बन्दरगाह निर्माण गर्नसके यस भेगको व्यापार फस्टाउने व्यवसायीको भनाइ छ ।
प्रधानमन्त्रीसँगको भेटमा कोरोना महाव्याधी र आर्थिक मन्दीका कारण राहत दिन बैंकले कर्जा अवधि लम्ब्याउनुपर्ने र थप ऋण प्रवाह गर्नुपर्ने विषय ध्यानाकर्षण गराएको जलेश्वर उद्योग वाणिज्य सङ्घका अध्यक्ष लवराजा सिंहले बताउनुभयो ।