चैत २१, २०८० बुधबार

काठमाडौं – नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’को एक दिवसीय सिरिजको पहिलो खेलको ८ ओभरको चौथो बल खेल्दा नेपालले दोस्रो विकेट लिएको छ।

कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा नेपालले टस हारेर फिल्डिङ गरेको हो। टस जितेर ब्याटिङ गरिरहेको आयरल्यान्डले १० ओभरको समाप्तिमा दुई विकेटको क्षतिमा ३६ रन बनाएको छ। १० औ ओभर रिजन ढकालले मेडन राखेका हुन्।

नेपालका लागि पहिलो विकेट ५ ओभर १ बलमा रिजन ढकालले लिए। उनले जेम्स म्याकोलमलाई १२ रनमा आउट गरेका हुन्। १५ बल खेलेका उनले तीन चौका प्रहार गरेका थिए।

त्यसैगरी नेपालका लागि दोस्रो विकेट शाहब आलमले लिए। उनले आयरल्यान्डका स्टीफन डोहेनीलाई ८ ओभरको चौथो बलमा एलबीडब्लुमा पारेका हुन्।

घरेलु मैदानको टी–२० सिरिज २–१ ले गुमाएको नेपालले एक दिवसीय सिरिज उचाल्ने लक्ष्य लिएको छ।

विनोद भण्डारीको कप्तानीमा रहेको नेपाल ‘ए’ टिममा एक दिवसीय खेलका लागि आरिफ शेख र भीम सार्कीसमेत प्लेइङ ११ मा रहेका छन्।

एक दिवसीय सिरिजको दोस्रो खेल चैत २३ र फाइनल चैत २५ गते कीर्तिपुर मैदानमै हुनेछ।

आयरल्याण्ड ‘ए’ले राष्ट्रिय टिमसँग यसअघि दुई खेलको टि–२० सिरिज खेलिसकेको छ। उक्त सिरिजमा नेपाल विजयी भएको छ। दुवै खेलमा नेपालले शानदार जित निकाल्दै सिरिज उचालेको हो।


नेपाल ए टिम

विनोद भण्डारी (कप्तान), अर्जुन कुमाल, देव खनाल, भीम सार्की, अर्जुन साउद, आरिफ शेख, बसिर अहमद, कमलसिंह ऐरी, शहब आलम, रिजन ढकाल र मौसम ढकाल।