गाईघाट (उदयपुर), २५ चैत : दुई वर्षअघि उदयपुरको त्रियुगा नगरपालिकाका–१३ स्थित बेहडवामा सञ्चालित जिल्लाको एक मात्र थारु आवास (होमस्टे) मा अहिले दैनिक सयौँको सङ्ख्यामा पर्यटकको आगमन बढ्न थालेको छ ।
मेचीदेखि महाकालीसम्म र हिमाल पहाडसहित आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्यामा उल्लेख्य वृद्धि भइरहेको होमस्टे सञ्चालक बताउँछन् । पर्यटकको आगमन बढे्सँगै आम्दानी पनि वृद्धि भएको व्यवसायी बताउँछन् ।
गाउँलेहरुले मिलेर सञ्चालन गरेको यो सामुदायिक होमस्टेमा अलिे आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या बढ्न थालेको होमस्टे सञ्चालक समितिका अध्यक्ष उतिमलाल चौधरीले बताउनुभयो । “सुरुमा आठ घरपरिवार मिलेर सञ्चालन गरेका हौँ । स्थानीय पर्यटन प्रवर्द्धन र थारु संस्कृतिको प्रचारप्रसार गर्ने लक्ष्यका साथ होमस्टे सञ्चालन गरेका हौँ”, उहाँले भन्नुभयो ।
सुरुमा पर्यटकको आगमन न्यून रहको भन्दै पछिल्लो एक वर्षयता दैनिक सयौँको सङ्ख्यामा पर्यटक आउने गरेका चौधरीले जानकारी दिनुभयो । अहिले पर्यटकको प्रभावकारी व्यवस्थापन गर्न निकै चुनौती बन्न थालेको उहाँको भनाइ छ ।
अध्यक्ष चौधरीका अनुसार नेपालको पश्चिम महाकालीदेखि तराई तथा काठमाडाँै र पूर्वी नेपालका साथै भारतको बिहार दार्जिलिङ, सिलीगुढी, कालिम्पोङसम्मका पर्यटक होमस्टेमा बस्नका लागि आउने गरेको समितिका सदस्य नन्दु चौधरीले बताउनुभयो ।
समितिका लेखा प्रमुख प्रभा चौधरीका अनुसार अहिले होमस्टेमा एकसाता अगाडिदेखि सबै कोठा बुकिङ हुन थालेका छन् । बाहिरबाट आउनेले एकसाता पहिला नै सूचनामार्फत कोठा लिने गरिरहेका उहाँको भनाइ छ । होमस्टेमा दैनिक न्यूनतम रु ५० हजारभन्दा बढीको आर्थिक कारोबार हुने गरेको उहाँले जानकारी दिनुभयो ।
थारु संस्कृतिमा आधारित खानाको परिकार, पहिरन र आगन्तुकलाई गरिने स्वागतसहितको व्यवहारले पर्यटक आकर्षित हुँदै गएका स्थानीय दुर्गानन्द चौधरीले बताउनुभयो ।
होमस्टे सञ्चालन गरेको छोटो समयमा यहाँ पर्यटनको आगमन बढेको भन्दै यसले रोजगारी सिर्जना हुनुका साथै आर्थिकस्तर वृद्धि गरेको त्रियुगा नगरपालिकाका मेयर वसन्त बस्नेतले बताउनुभयो । यहाँ सञ्चालित होमस्टेका कारण आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धनमा टेवा पुग्न थालेको उहाँको भनाइ छ ।
पाहुनालाई एक किलोमिटर परबाट नै थारु परम्पराको बयलगाडामार्फत यात्रा गराएर होमस्टेमा प्रवेश गराउने भएकाले पर्यटकलाई सुरुआतदेखि नै मनोरञ्जन प्राप्त हुने उदयपुरका पर्यटन व्यवसायी जीतु रैलाले बताउनुभयो । यहाँ सञ्चालित होमस्टेले पर्यटन प्रवर्द्धनमा र विकास टेवा पु¥याएको भन्दै पर्यटन बोर्डले हालै पुरस्कृतसमेत गरेको छ ।