संसारमै नेपाली समाज विशिष्ट छ । यस समाजको संरचना अन्य कुनै समाजसँग मिल्दैन र नमिल्नु नेपाली समाजको कमजोरी हैन ; विशिष्टता हो ।
सबै पूर्वाग्रहहरूलाई परै छाडेर, यसको निर्मम समीक्षा गर्ने हो भने नेपाली समाजमा दुईथरी स्तरीकरणहरू छन् : ठाडो (vertical) र तेर्सो (horizontal) । स्वतन्त्र भएर समीक्षा गर्ने हो भने हामीले परिवर्तन चाहेको र नेपाली समाजमा आजको सन्दर्भमा नमिलेको र त्याग्नुपर्ने/छाड्नुपर्ने ठाडो स्तरीकरण हो, तर जोगाउनु/प्रोत्साहन र प्रवर्द्धन गर्नुपर्ने चाहिँ तेर्सो स्तरीकरण हो, हैन र ?
हामीले निर्माण गर्न खोजेको आदर्श समाज विभेदरहित हो ; एकलरूपतापूर्ण (homogenous) हैन । सबै जात, जाति, जनजाति, धर्म, संस्कृति, भौगोलिक अवस्थितिका मानिसहरू सबै एक हुन् र सबैको एकल पहिचान हुनुपर्छ भनियो भने त्यो नमिल्दो कुरा हुन्छ । सबै जात, जाति, जनजाति, धार्मिक/साँस्कृतिक समूह, सम्प्रदाय स्वयं गौरवशाली छन् र हुनुपर्छ । नेपाल राष्ट्रभित्र नेपाली मौलिकतालाई आदर्श मान्ने सबै धर्म, जाति, जनजाति, संस्कृति, भाषा तथा प्रादेशिक पहिचानलाई आदर्श मान्नेहरू सबै अंशियार र वंशियार हुन् । धर्मकै कारण, जातकै कारण, जनजातिकै कारण, भाषाकै कारण, संस्कृति/संस्कारकै कारण कोही ठूलो र सानो छैन ; कहिल्यै हुनुहुन्न । तर स्वपहिचान र स्वधर्ममा रमाउने स्थिति बनाउन आज हामीले कर्म गर्ने हो, हैन र ?
नेपाली समाजको इतिहासमा गर्व गर्न सक्ने धेरै अवसरहरू छन् । सबैले जहानियाँ निरंकुश भनिएको र नेपाली समाजको इतिहासमा कहिल्यै आदर्श बन्न नसकेको राणाशासनकै पालामा पशुसरह किनबेच गर्ने 'दास प्रथा' आज केही दशकपछि कुन जात र थर गरेका मानिसहरूलाई दास बनाइन्थ्यो भनेर प्रमाण र अवशेष नै नदेखिने गरेर जसरी अन्त्य गरियो, सम्बन्धको आधार प्रेमलाई बनाएर त्यसै गरेर जातीय, लैङ्गिक तथा क्षेत्रिय विभेदहरूको अन्त्य सम्भव छ र त्यसो गर्न हाम्रो पुस्ता सक्षम छ ।
कयौं नेपालीले आजभन्दा अघि नै अन्तरजातीय विवाह गरिसकेको र त्यसका तीता-मीठा अनुभव जेजस्ता भए पनि आजका मितिसम्म पनि आदर्श विवाह 'स्वजातीय मागी' विवाह नै छ । तथाकथित कम्युनिस्ट क्रान्तिकारीहरूले फैलाएको वैचारिक जालमा हामी नफसौँ । तिनले चाहेको भनेको नेपाली समाज/संस्कृतिको संरचना तथा सभ्यताको आधारशिला सदा-सदाका लागि ध्वंस गर्ने हो । तर हामी सहृदयीहरूको जिम्मेवारी स्थिति-गत्यात्मक भएर प्राचीनताबाट अविच्छिन्न हुँदै अघिबढेको मूलधारको ज्ञानपरम्परा जोगाउने र आजको समय सन्दर्भमा नमिल्ने चालचलन/संस्कार/संस्कृति त्याग्ने र अनिवार्यताको सिद्धान्तबमोजिम अपरिहार्य परिवर्तनलाई स्वीकार्नु हो ।
माथि भनिएजस्तो ठाडो (vertical) स्तरीकरण (उच्चता/निम्नता) लाई त्याग्ने हो तर तेर्सो (horizontal) स्तरीकरण (बहु-पहिचान) लाई जोगाउन सकेनौं भने हाम्रा विविधतापूर्ण संस्कार, संस्कृति, परम्परा लोप भएर जानेछन् । हिजोआज हामीले घाँटी सुक्ने गरी कराएको र सयौँले बलिदान गरेर त्याग्न खोजेको तथाकथित एकल जातीय वर्चस्वभन्दा कुरुप घृणामा आधारित प्रतिकृयात्मक किसिमको (पश्चिमी समाज सापेक्ष) एकल जातीय, एकल धार्मिक, एकल साँस्कृतिक वर्चस्व नै स्थापित हुन्छ र त्यो हाम्रो आदर्श हैन ।
विवाह नेपाली समाजमा "my life my choice" हैन ; परिवार, नातेदार, कुल, कुटुम्वको आदर्श पनि हो । त्यसकारण विवाह शिर ठाडो गरेर गौरव गर्नसक्ने आदर्श बनोस् लाजले शिर निहुराउने सम्झौता हैन । अन्तरजातीय विवाह नेपाली समाजको प्रतिमान हैन ; उपमान बनाउन हामीले युवायुवतीलाई प्रशिक्षण गर्नुपर्छ । बहुजात, बहुजातीय, बहुजनजातीय, बहुधार्मिक, बहुप्रादेशिक पहिचान भएको नेपाली समाजको मूल प्रवृत्ति स्वजातीय, स्वधर्मी 'मागी विवाह' बनोस् भन्ने कामना गरौँ ।
हिजोआज अल्पज्ञान, आधुनिकताको नाममा पश्चिमी समाजका विकृत अभ्यासहरू अनुकरण गरेर १२/१४ वर्षमा 'लभ' गर्ने ; 'लभ' पर्नासाथ शारीरिक सम्बन्ध राख्ने घटना बढेका छन् । विवाहअघि नै गर्भ बस्ने र असुरक्षित गर्भपतन अपरिहार्य बन्ने प्रवृत्ति समाजमा फैलिँदै छ । यस्तो सामाजिक विचलन, विसंगति तथा कुसंस्कारलाई तथाकथित परिवर्तन अथवा क्रान्ति भनेर आदर्श मान्न सकिन्न ! यस्तो कुरिती अन्तरजातीय मात्रै हैन, स्वजातीय विवाहमा पनि निरुत्साहित गर्नुपर्छ ।
हामी आफू-आफूले मनन गरौँ त ! हाम्रा छोराछोरीको आदर्श वैवाहिक सम्बन्ध कस्तो चाहन्छौं ? पढून्, जानून्, बुझून्, ज्ञानी बनून्, आत्मनिर्भर बनून् र आफ्नो जीवनको निर्णय लिँदा बुबा/आमा/इष्ट/मित्र/कुल/कुटुम्बको पनि आदर्श बनून् भन्ने अपेक्षा राख्छौँ/राख्दैनौँ ? उमेर, शरीर, मानसिक, सामाजिक, साँस्कृतिक तथा व्यवहारिकताले योग्य भएर लिएका निर्णयहरूलाई स्वागत गरौँ । होनहार युवायुवतीहरू पढाइलेखाइ, सीप, कला, ज्ञान आर्जन, आर्थिक स्वावलम्बलाई ओझेल पारेर मलाई त्यही केटी/केटो चाहिन्छ भनेर एउटै लक्ष्य बनाएर जीवनको सबैभन्दा महत्त्वपूर्ण पक्षलाई नजरअन्दाज गर्ने गलत प्रवृत्ति व्यक्तिगत स्वतन्त्रताका नाममा सङ्क्रामक सरुवा रोगजस्तै गरेर फैलिँदै छ । आत्मनिर्भर र स्वावलम्बी भएर आफ्नो जीवनको निर्णय गर्न सक्ने भएपछि युवायुवतीहरूका स्वतन्त्रताको सम्मान गर्नु पो आदर्श हुन्छ, हैन र ?
नेपाली समाजमा सबै जातजाति, जनजाति, प्रादेशिक समुदायको आ-आफ्नो रीतिरिवाज, चालचलन छन् ; तिनीहरू ती-ती समाज र समुदायका सदस्यहरूको आशा र आत्मविश्वासका बाधक छैनन् । निर्मम बनेर त्याग्ने उच-नीच अनुभूति र विभेद हो ; विश्वविद्यालयले स्वामित्व लिन नसकेको बहुधार्मिक, बहुभाषिक, बुहुजातीय, बहुजनजातीय, बहुप्रादेशिक तथा बहुसाँस्कृतिक पहिचानमा अन्तरनिहित भएको ज्ञान पद्धति हैन ।
सम्बन्धका आधार घृणामा खोज्ने द्वन्द्वात्मक भौतिकवादी कपूतन्त्रीय गुटहरूको बिषाक्त वैचारिक जालबाट निस्किएर सहृदयताको फराकिलो राजमार्गमा आएपछि मात्रै धर्म, संस्कृति, भाषा, जात, जाति, जनजाति तथा प्रादेशिक विविधता समस्या र झमेला नभएर अवसर र सम्भावना लाग्दछन् । समन्वयत्मकता र पारस्परिकतामा आधारित नेपाली समाज र संस्कृतिको मुलधारलाई स्थितिगत्यात्मक प्रवर्द्धन गर्नु हामी सबै नेपाली नागरिकको सामाजिक कर्तव्य र जिम्मेवारी हो ।