मनहरी (मकवानपुर), २ वैशाखः अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले मकवानपुरको इन्द्रसरोवर गाउँपालिकामा एन्फा एकेडेमी सञ्चालन गर्ने भएको छ । वडा नं–३ स्थित वल्सलादेवी माविमा एन्फा एकेडेमी सञ्चालनका लागि केही दिनअघि एन्फा अध्यक्ष पङ्कजविक्रम नेम्वाङ र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा संविधानसभा सदस्य सुभाषचन्द्र ठकुरीबीच सम्झौतापत्रमा हस्ताक्षर भएको हो । एन्फाका महासचिव किरण राईका अनुसार एकेडेमीमा १३ वर्षमुनीका ३० जना खेलाडी राखिनेछ ।
अहिले एन्फाले १३ वर्षमुनीका छनोट अन्तर्गत प्रदेश छनोट चरणमा रहेको उहाँले बताउनुुभयो । प्रदेश–प्रदेशबाट छनोट भएकाबाट छनोट गरी २५ जनालाई उक्त एकेडेमीमा राखिने उहाँले बताउनुभयो । बाँकी पाँच जना भने विद्यालयकै विद्यार्थी राखिने उहाँले बताउनुभयो ।
एन्फाले मकवानपुरसँगै बुटवल र च्यासलमा पनि एकेडेमी सञ्चालन गर्ने तयारी थालेको उहाँले बताउनुभयो । एन्फाले एकेडेमीका लागि चार वर्षसम्मको सम्झौता गरेको छ । एन्फाले वार्षिक एकेडेमीका लागि रु २६ लाख प्रशिक्षक र सामग्री उपलब्ध गराउने महासचिव राईले बताउनुभयो ।
खेलाडीलाई पढाइसँगै फुटबल प्रशिक्षण गराएर राष्ट्रिय खेलाडी उत्पादन गर्ने एन्फाको लक्ष्य रहेको महासचिव राईको भनाइ छ । एकेडेमीका संयोजक एवम् विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ठकुरीले एकेडेमीका लागि आवास, मैदान र स्वास्थ्य उपचार विद्यालयको तर्फबाट उपलब्ध हुने बताउनुभयो ।
उहाँले विद्यार्थीलाई रुचि अनुसारको विषय पढाएर फुटबल प्रशिक्षणमा सरिक गराउने बताउनुभयो ।