तुलसीपुर, २ वैशाखः पर्यटकको चहलपहल तथा आर्थिक गतिविधि कम हुन थालेपछि यहाँका होटेल व्यवसायी मारमा छन् । होटेल सञ्चालकहरु भाडा तिर्नसमेत नसक्ने अवस्थामा पुगेको नेपाल उद्योग व्यापार महासङ्घका तुल्सिपुरका अध्यक्ष घनश्याम डाँगीको भनाइ छ ।
“होटेल सञ्चालकहरु भाडा तिर्नसमेत सक्ने अवस्था छैनन्”, उहाँले भन्नुभयो, “व्यवसायी पलायन हुने अवस्थामा छ ।” होटेल व्यवसायी मारमा परेको अवस्थामा राज्यले पनि हेर्नुपर्ने माग होटेल व्यवसायी महासङ्घ लुम्बिनी प्रदेशका अध्यक्ष भास्कराज काफ्लेले गर्नुभयो । होटेल व्यवसायी आफै मारमा परेको अवस्थामा राज्यले पनि दोहोरो कर लिने गरेको उहाँको भनाइ छ ।
“होटेल व्यवसायलाई सुरक्षा गर्ने दायित्व राज्यको हो”, उहाँले भन्नुभयो, “यसमा राज्यले चासो दिनुपर्छ ।” पर्यटन प्रवद्र्धनदेखि स्थानीयस्तरको विकासका लागि होटेल व्यवसायीको भूमिका महत्वपूर्ण रहेको तुलसीपुर उद्योग वाणिज्य सङ्घका संस्थापक अध्यक्ष डिल्लीबहादुर बस्नेतले बताउनुभयो । यसमा होटेल व्यवसायी एकजुट हुनुपर्ने उहाँको भनाइ छ । अहिले होटेल व्यवसायीलाई लगानी गर्ने वातावरणसमेत नरहेको बस्नेतको भनाइ छ ।
“धेरै होटेल व्यवसायी पलाइन भइसके”, उहाँले भन्नुभयो “अझै पलायन हुने अवस्था जारी छ, अहिले लगानी गर्ने वातावरण पनि छैन ।” दाङको तुलसीपुरमा मात्रै पाँच सयभन्दा बढी होटेल व्यवसायी छन् । तर, अधिकांश होटेलहरुले भाडा तिर्नसमेत नसकिरहेको तुलसीपुर होटेल व्यवसायी समितिका अध्यक्ष इन्द्रबहादुर बस्नेतले बताउनुभयो ।
दाङ प्रदेशको राजधानी भए पनि टरिगाउँ विमानस्थल नियमित सञ्चालन नहुँदा पनि बाह्य मानिस आउन नपाउँदा होटेल चल्न नसकेको उहाँले बताउनुभयो ।