काठमाडौं– ‘मनसरा’ टिमले कविता कन्सर्टमार्फत चलचित्रको प्रचार गर्दै आएको छ । पोखरा र बुटवलको कार्यक्रम सकेर मनसरा टिम अहिले पूर्वमा छ ।
पूर्वमा बुधबारबाट झापाबाट सुरु भएको यस कन्सर्टको यात्रा इटहरी पुगेर सकिने निर्माण पक्षले जनाएको छ । बुधबार बिर्तामोडको एक सिनेमा हलमा कविता कन्सर्ट भएको थियो ।
सो कार्यक्रममा कवि तथा चलचित्रका निर्देशक उपेन्द्र सुब्बाले बिर्तामोडमा आधा दर्जन भन्दाबढी कविता सुनाएका थिए । कन्सर्टमा अभिनेत्री मिरुना मगरले आफ्नो आमाले रचना गरेको कविता सुनाएकी थिइन् । अन्य कलाकारहरू मेनुका प्रधान, प्रवीण खतिवडा र जीवन बरालले निर्देशक सुब्बाको कविता वाचन गरेका थिए ।
सो कार्यक्रममा प्राज्ञ मुनराज शर्मा, बरिष्ठ गीतकार शिवशंकर थापा, अग्रज पत्रकार तथा साहित्यकार केशव आचार्यलगायतको सहभागिता थियो ।
भोलि धरानमा कन्सर्टको कार्यक्रम तय भएको निर्देशक सुब्बाले जनाए । उनको निर्देशन रहेको दोस्रो फिल्म मनसरा वैशाख २१ बाट प्रदर्शनमा आउँदैछ । चलचित्रमा दयाहाङ राई, प्रविण खतिवडा, मिरुना मगर र मनेुका प्रधानको मुख्य भूमिका रहेको छ ।
निर्देशक सुब्बाकै लेखन रहेको यस चलचित्रमा सिनेमाका निर्माता र छायाँकार शैलेन्द्र ध्वज कार्की हुन् । सह-निर्माताहरु भने विष्ण कुमार लिम्बू, मनोरथ पोखरेल, पर्शु अधिकारी, पिटर गुरुङ तथा जीवन लिम्बू थाक्लुङ हुन् । सिजन दाहाल कार्यकारी निर्माताका भूमिकामा छन् ।